Butwal Today

बिरामीको मृत्युपछि दाङको बुद्ध हस्पिटलमा आन्दोलन

२७ असार २०८०, बुधबार
अ+
अ-

दाङ, २७ असार ।

घोराही– १५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटल प्रालिमा पत्थरीको अप्रेशन गरेकी एक जना महिलाको मृत्यु भएको छ । घोराही –१४ निवासी कमला बिकको मृगौलामा परेको पत्थरीको अप्रेशन गर्ने क्रममा बुधबार मृत्यु भएको परिवारले जनाएको छ ।

मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै उपचारमा संलग्न डाक्टरलाई कारबाहीको माग गर्दै आन्दोलन गरेका छन् । मृतकका ज्वाई बरुण बिकले हस्पिटलको लापरबाहीका कारण बिरामीको मृत्यु भएको दाबी गरेका छन् । तर, अस्पतालका कर्मचारी रसिल थापाले बिरामीको हृदयघातका कारण मृत्यु भएको दाबी गरे ।

अप्रेशन गरेर सफल भएको बिरामी राम्रो बोलचाल पनि गर्ने गरेको, तर, एक्कासी हृदयघातकै कारण मृत्यु भएको अस्पतालले बताएको छ । हस्पिटलका सर्जन डा. रमेश बस्नेतले बिरामीको पत्थरीको अप्रेशन गरेको र बिरामीको अप्रेसन सफल भएको तर एक्कासी मृत्यु भएको बताए । बिभिन्न माग राखि मृतकका आफन्तले अस्पतालमा आन्दोलन गरेका छन् ।