Butwal Today

यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति

२५ असार २०८०, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक् वर्ष २०७९–०८० को ११ महिनाको तथ्यांकका आधारमा राष्ट्र बैंकले रिपोर्ट सार्वजनिक गरेको हो ।  जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । यस्तै आयात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ ।

यसैगरी  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको बैंकले जनाएको छ।  यस्तै शोधनान्तर स्थिति रु.२२८ अर्ब ९८ करोडले बचतमा रहेको बताएको राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति रु.१,४८० अर्ब ८७ करोड र अमेरिकी डलरमा ११ अर्ब ३० करोड रहेको जनाएको छ ।

यसैगरी संघीय सरकारको खर्च रु.१,१७६ अर्ब ७ करोड र राजस्व परिचालन रु.८३६ अर्ब ८५ करोड रहेको छ ।  विस्तृत मुद्राप्रदाय ७.८ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.९ प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।