Butwal Today

ज्योतिनगर पहिरो प्रभावित क्षेत्रमा वृक्षरोपण

१४ असार २०८०, बिहीबार
अ+
अ-

बुटवल, १४ असार  बुटवलको पहिरो प्रभावित ज्योतिनगर क्षेत्रमा वृक्षरोपण गरिएको छ। ज्योतिनगरको चेतना पासाङ टोल नजिकै जलदेवी माथिल्लो भागमा विहिबारदेखी वृक्षरोपण शुरु गरिएको हो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको शुरुवात गरे । सो क्षेत्रमा १ हजार ३ सय बिरुवा लगाईने उनले बताए । ज्योतिनगर क्षेत्रको पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउनका लागि नगरबाट ग्याबिन जाली लगाउने, कल्भर्ट बनाउने, रिटेनिङ वाल लगाउने र बाढी तर्काउने काम गरेको समेत बताए । वृक्षरोपण अभियान अन्तरगत १ हजार ३ सय बाँस र अम्रिसोका विरुवा सो क्षेत्रमा रोप्ने कार्यक्रम रहेको छ। ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रणका लागि संघ र प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने बताउँदै उनले पहिरो प्रभावित क्षेत्रका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।


कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले पहिरो प्रभावित क्षेत्रका बस्ती सुरक्षित राख्नका लागि नगरबाट प्राथमिकतामा राखेर काम अघि बढाएको बताईन । नगरको बजेटबाट मात्रै पहिरो नियन्त्रण सम्भव नभएको भन्दै उनले संघ र प्रदेश सरकारको चासो जरुरी रहेको बताईन । गतवर्ष ५ सय विरुवा रोपिएको र अहिले १ हजार ३ सय विरुवा रोपेपछि पहिरो रोकथाममा सहयोग पुग्ने स्थानीय जनप्रतिनिधि अमृत खड्काले बताए । ज्योतिनगर क्षेत्र पासाङ टोल मिलन पथमा २ वर्षअघि आएको पहिरोका कारण ६ सय घर प्रभावित भएका छन्। पहिरो प्रभावित क्षेत्रमा बुटवल उपमहानगरपालिकाले पहिरो नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ ।