Butwal Today

डङ्गर प्रजातीका गिद्ध मृत फेला

१० असार २०८०, आइतबार
अ+
अ-

नवलपुर, ९ असार ।

पूर्वी नवलपरासीको नवलपुर कावासोतीमा ४ वटा डङ्गर प्रजातीका गिद्ध मृत अवस्थामा फेला परेका छ्न् ।

कावासोती नगरपालिकाको वडा नं. ३ नजिकै रहेको केरुङ्गे खोला किनारमा लोपोन्मुख ४ वटा डङ्गर प्रजातीका गिद्ध मृत अवस्थामा फेला परेका जटायु रेष्टुरेन्टका अध्यक्ष एवं चरा विज्ञ डिवि चौधरीले जानकारी दिए ।

बिहिबार साँझ गिद्ध मृत अवस्थामा देखेपछि स्थानीयको सूचना अनुसार घटनास्थलमा पुगेका चौधरीले गिद्ध मरेको स्थानमा स्याल जस्तो देखिने जनावर मरेको अवस्थामा फेला परेको र सोही जनावरको सिनो खाएर गिद्ध मरेको हुनसक्ने बताए ।

चौधरीका अनुसार मृत फेला परेको स्याल जस्तो देखिने जनावार विषाक्त खानाले मरेको र त्यही सिनो खाएर गिद्ध मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको हो । मृत फेला परेका गिद्धलाई जटायु रेष्टुरेन्टमा ल्याएर राखिएको र शनिबार पोस्टमार्टम गर्दा विषादीयुक्त खाना खाएर स्याल मरेको र त्यही स्यालको सिनो खाएका कारण गिद्धको मरेका पाइएको चौधरीले बताए ।

गत फागुनमा समेत यही स्थानमा पाँच वटा डङ्गर प्रजातीका गिद्ध विषाक्त सिनो खाएर मरेका थिए ।