Butwal Today

नरैनापुरमा पाठेघरको क्यान्सर परीक्षण शिविर

९ असार २०८०, शनिबार
अ+
अ-

बुटवल, ९ असार ।   स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकाको संमन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्ने उद्देश्यका साथ नरैनापुर—५, मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हेल्थ असिस्टेन्ट अमन चौधरीले बताए । मटेहिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेमका अनुसार १ सय ५४ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । पाठेघरको मुखको क्यान्सर सम्बन्धी उपचार कार्यक्रममा स्त्रीरोग बिशेषज्ञ कल्पना थापाले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान, सरसफाईमा ध्यान नदिने तथा असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेकोे बताएकी थिईन ।
स्वास्थ्य कार्यालय बाँकेका अधिकृत बिष्णु श्रेष्ठका अनुसार जाच गरिएकामध्ये ६ जनामा क्यान्सर ‘पोजिटिभ’ र १३ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको बताए । यस्तै शिविरमा भिआईए.(दृष्य निरीक्षण कार्य) विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँचगर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा पछि गएर क्यान्सर हुन सक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा सजगता अपनाउन सुझाव दिएको मटेहिया स्वास्थ्य चौकीका सि.अनमी निर्मला बोहराले बताईन ।