Butwal Today

विश्वकप छनोट : आज नेपाल विश्वकप विजेता वेस्टइन्डिजसँग भिड्दै

७ असार २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आईसीसी विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज (बिहीबार) विश्वकप विजेता वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै छ। चारपटकको विश्वकप विजेता वेस्टइन्डिजसँगको खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुनेछ।

नेपाली टोलीले क्रिकेट इतिहासमा पहिलोपटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो। ओडीआई वरीयतामा वेस्टइन्डिज १०औं र नेपाल १४औं स्थानमा छन्।

आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन्। वेस्टइन्डिजको कमानी शाई होपले सम्हाल्नेछन्।

नेपालले ओडीआईमा आइतबार पहिलोपटक टेस्ट टोली जिम्बाब्वेसँग खेलेको थियो। जुन खेलमा नेपाल ८ विकेटले हार्‍यो।

विश्वकप छनोटअन्तर्गत अमेरिकासँगको खेलमा भने नेपाल ६ विकेटले विजयी भयो।

एक खेलमा जित र एक खेलमा हार भोगेको नेपाल २ अंकमा समूह एको तेस्रो स्थानमा छ। लगातार दुई खेल जितेको जिम्बाब्वे ४ अंकमा शीर्ष र एक खेलमा जित हासिल गरेको वेस्टइन्डिज दोस्रो स्थानमा छन्।

लगातार दुई खेल हारेको अमेरिका र एक खेलमा हार भोगेको नेदरल्यान्ड अंकविहीन रुपमा तालिकाको चौथो र पाँचौँ स्थानमा छन्।