Butwal Today

समाजवादी मोर्चा घोषणा आज, कुन कुन पार्टी समेटिँदै छन् ?

४ असार २०८०, सोमबार
अ+
अ-

काठमाडौँ ।

प्रगतिशील र समाजवादी शक्तिहरूको गठबन्धन समाजवादी मोर्चा आज (असार ४ गते) घोषणा गरिँदै छ। मोर्चामा आबद्ध हुने जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्रमान श्रेष्ठका अनुसार आज अपराह्न राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरी समाजवादी मोर्चा घोषणा गरिने भएको हो।

सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार आज घोषणा हुने समाजवादी मोर्चामा आफ्नो पार्टीसहित नेकपा एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (नेसपा) सहभागी हुनेछन्।

मोर्चाको नाम ‘समाजवादी मोर्चा नेपाल’ राखिने बताइएको छ।

यस्तो छ समाजवादी मोर्चा नेपालको प्रस्तावित संरचना 
नेताहरूका अनुसार मस्यौदामा समाजवादी मोर्चा नेपाललाई अंग्रेजीमा ‘सोसलिस्ट फ्रन्ट नेपाल’ भनिएको छ।

आलोपालो अध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ। तोकिएको व्यक्ति र तोकिएको संख्या रहने उल्लेख गरिएको छ। दलहरूका सदस्यताका आधारमा सो संख्या राखिएको छ। ७५३ वटै स्थानीय तहसम्म पुग्नेगरी मोर्चाको संयन्त्र बनाइएको छ।

देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान मोर्चा बनाउनुपरेको दाबी उनीहरुले गरेका छन्।