Butwal Today

सहुलियतपूर्ण कर्जाका विषयमा उद्यमी महिलासँग अन्तरसंवाद

२ असार २०८०, शनिबार
अ+
अ-

बुटवल, २ असार ।

पछिल्लो समय लघु घरेलु तथा साना उद्योगमा महिलाहरुको उल्लेख्य उपस्थित बढेको देखिन्छ । तर उद्यमी महिलाहरुले सुबिधाको लागि भनिएको सहुलियतपूर्ण कर्जा पाउन निकै झन्झट व्योहोर्नु परेको उद्यमी महिलाहरु बताउँछन् ।

शनिवार बुटवलमा आयोजित आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता, महिला उद्यमशीलता विकासका लागि वित्तिय सहजता र सहुलियत कर्जा सम्बन्धी उद्यमशीलता परामर्श तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उद्यमी महिलाहरुले विना धितो बैंकबाट १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने सरकारी व्यवस्था रहे पनि अति नै झन्झटिलो र पहुँचका आधारमा दिईने भएकाले आफुहरुले बैंक सुविधा नलिएको बताए । उक्त सुविधालाई व्यवहारिक र सबैको पहुँचमा पु¥याउन राष्ट्र बैंकलाई उनीहरुले आग्रह समेत गरेका छन् ।

सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशको आयोजना र शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहयोगमा सञ्चालन भएको कार्यक्रमका प्रमुख वक्ता नेपाल राष्ट्र बैंकका निर्देशक एवं सिद्धार्थनगर शाखा प्रमुख सत्येन्द्रराज सुवेदीले लुम्बिनी प्रदेशको समग्र अर्थको अबवथा बारे कार्यपत्र प्रस्तुत गर्दै वित्तिय तथा आर्थिक क्षेत्रसँगै कृषि, उद्योग र पूर्वधारमा पनि लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा अगाडि रुपन्देही रहेको बताए ।

त्यस्तै नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले बैंकहरुले सहुलियपुर्ण कर्जा दिदैनन तर जरिवाना तिर्न तयार हुन्छन्, यसकारण बैंकले दिने सुबिधाबाट महिला उद्यमी बञ्चित रहेको बताए । त्यस्तै अर्का वक्ता शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका डेपुटी सिईओ लोकराज पनेरुले उद्यमशिलता विकास तब मात्रै सम्भव हुन्छ जब उद्यममा समाजको सोच परिवर्तन हुन्छ भन्दै पहुँचका आधारमा व्यक्ति संस्था हेरेर मात्रै हैन परियोजनाको जोखिम मुल्यांकन गरेर मात्रै कर्जा दिने गरिएको बताए । अहिले पनि महिला उद्यमशिलताको लागि शाईन रेसुङ्गा बैंकले ३० करोड लागानी गरेको छ । यस सँगसँगै उद्यमशिलता विकासको लागि वित्तिय साक्षरता पनि चलाउन आवश्यक रहेको बताउँदै सहुलियतपूर्ण कर्जाका लागि महिला उद्यमीसँग सधै सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रमुख वक्ता तथा परामर्शकर्ताका रुपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक सत्येन्द्र राज सुवेदी, उपनिर्देशक जीवन प्रकाश पाण्डे र प्यानलिष्टमा शाइन बैंकका डेपुटि सिईओ लोकराज पनेरु लगायत नेपाल उद्योग परिसंघका एजाज आलम, चेम्बर अफ कमर्श लुम्बिनीका टंक प्रसाद पोखरेल, लुम्बिनी महिला उद्यमी संघका अध्यक्ष रचना पन्त, अर्थ विश्लेषक मनिकर कार्की लगायत उद्यमी महिला एकल तथा द्वन्द्वपीडित समूदायका महिला जो उद्यमशीलताका लागि सहुलियत कर्जा वा वित्तिय सहजीकरण चाहन्छन् र आर्थिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम उद्यमीको लागि सहजपूर्ण कर्जा अनुदान लिन बैंकमा पेश गर्नुपर्ने कागजातदेखि अन्य प्रक्रियाबारे कतिपय महिला उद्यमीहरूलाई जानकारी नहुँदा र स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत व्याजदरको कर्जा कार्यक्रमको ऋण लिन अझै पनि पहुँच नपुगेको र समाजमा रहेका लक्षित वर्ग र एकल महिला उद्यमीका लागि राहत हुने नीति बनाएर सहज कर्जा व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई अनुरोध समत गरे ।

रुपन्देही क्षेत्रका आर्थिक गतिविधि, उद्यमशीलतामा महिला सहभागिता, बैंक तथा वित्तिय अनुदान र ऋणमा महिलाको पहुंच, महिला र विपन्न लक्षित बैंक तथा वित्तिय संस्थाका कार्यक्रम सम्बन्धी अन्तरसंवादमा सहभागीबाट उठेका प्रश्नहरुको संबोधन गर्दै राष्ट्र बैंकका निर्देशक सत्येन्द्रराज सुवेदीले अहिले बैंकहरुले उद्यमशील महिलाको लागि २० लाख कर्जा दिने व्यवस्था रहेको बताए । “यसअघि भने १५ लाख दिने व्यवस्था रहेको थियो”– उनले भने । उनले बैंकहरुले कृषि तथा पशुपक्षी, शिक्षित युवा स्वरोजगार, वैदेशिक रोजगारबाट फर्किएका युवा परियोजना, महिला उद्यमशीलता विभिन्न कर्जाहरुको लागि ५ देखि ६ प्रतिशत सम्म व्याज अनुदान दिंंदै आएको बताए । बैंक तथा बित्तिय संस्थाले प्रभाव गरेको व्याज अनुदानको सहुलियत कर्जा सही प्रयोजनका लागि उपयोग भए नभएको बारे नेपाल राष्ट्र बैंकले स्थलगत निरीक्षण समेत गरेको बताउँदै उनले उद्यमशीलता कर्जा नदिने बैंकलाई निगरानी बढाउने बताए ।