Butwal Today

वैदेशिक रोजगारमा पठाईदिने भन्दै करोड ठगी

नक्कली टिकट र भिसा बनाएर कहिले दिल्ली त कहिले काठमाडौंमा अलपत्र पारेको आरोप
२५ जेष्ठ २०८०, बिहीबार
अ+
अ-

लमही, २५ जेठ ।

क्यानडा र पोल्याण्ड पठाउँने भनेर विभिन्न ब्यक्तिहरुबाट लाखौँ पैसा लगेर तुलसीपुर ७ बस्ने अंकित अधिकारी फरार भएका छन् । दाङका विभिन्न ब्यक्तिहरुलाई क्यानडा र पोल्याण्ड पठाउने भनेर नक्कली भिसा र टिकट देखाएर उनले एक लाखदेखि २७ लाखसम्म पैसा असुलेर भागेपछि पीडितहरुले रिपोटर्स क्लब दाङमा पत्रकार सम्मेलन गरेर आफुहरु ठगिएको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका २ खैरीपुरका गंगा बहादुर डाँगी करिब २ महिनाअघि जेठ १६ गते क्यानडाको उडान हुने भन्दै उनी घरबाट विदाई भएर काठमाडौँ गए । अधिकारीले नक्कली टिकट र भिसा देखाएर विदाई भएर गएका उनी काठमाडौँ गएपछि मात्र ठगिएको थाहा पाए । उनले विभिन्न मितिमा अधिकारीलाई २५ लाख बुझाएको बताए ।

यस्तै अर्का रोहित केसीले पनि अंकितलाई क्यानडा जाने भनेर २७ लाख विभिन्न समयमा बुझाए । उनी पनि क्यानडा जानको लागि काठमाडौँ गए । उडान हुने दिनसम्म कुनै पनि कागजपत्र नपाएपछि आफू ठगिएको उनले थाहा पाए ।

तुलसीपुर उपमहानगरपालिका १५ का गगन कार्कीले पनि छोरालाई क्यानडा पठाउनका लागि १७ लाख बुझाए थिए । उनलाई पनि अंंकितले नक्कली टिकट र भिसा देखाएर पैसा लगेका छन् । आफूहरुले यसरी ठगिएको जानकारी प्रहरी प्रशासनलाई दिएको समेत उनले बताए ।