Butwal Today

वैदेशिक रोजगारबाट फर्किएकालाई सीपमूलक तालिम

१९ जेष्ठ २०८०, शुक्रबार
अ+
अ-

बुटवल, १९ जेठ ।

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम अन्तर्गत सीपमूलक तालिमको बिहिवारबाट सुरूवात भएको छ । तिलोत्तमा नगरपालिकाको सहयोगमा रिटर्नी (वैदेशिक रोजगारीबाट फर्किएका ) हरूको समन्वयमा बारिष्ता र बेकरी (कफी र केक ) बनाउने १५ दिने तालिम तिलोत्तमामा सुरू भएको हो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले बैदेशिक रोजगारीबाट फर्किएकाहरू खाली बस्न नपरोस् भन्ने सोचले तालिम सञ्चालन गरेको बताइन् । बिदेशबाट फर्किएका तिलोत्तमाका बासिन्दाको गुनासो सम्बोधन गर्दै स्वरोगार तिलोत्तमा बनाउने सोच रहेको उपप्रमुख चौधरीले बताइन् । तिलोत्तमा जस्तो नगरपालिकामा पटक पटक सूचना गर्दा पनि ४० जनाको कोटामध्य मात्रै २३ जनाको आवेदन आउनु दुखको कुरा भएको उनको गुनासो छ । यसबाट हामी कुरा मात्रै गर्ने अवसर पाउँदा सदुपयोग गर्न नखोज्ने बानी प्रष्ट झल्किएको बताइन् । तालिममा सिकेको सीपलाई प्रभावकारी बनाउन जरूरी रहेकोमा उनले जोड दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नेपालका युवा शक्ति पढाइ सकेर या नसकिदै विदेश जाँदा नेपालमा रेमिट्यान्स भित्रिएपनि बास्तवमा यो सही नभएको बताए । पछिल्लो समय हरेक शुभकर्ममा बारिष्ता (कफि ) र बेकरीको माग बढिरहेकाले यस किसिमको तालिमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ । कार्यक्रममा लेखा अधिकृत रमेश बस्यालले समाजमा पुनःएकीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । तालिमपश्चात उद्यमी बन्ने अपेक्षाले कार्यक्रम गरिएको बताउँदै उनले कुरा मात्रै गर्ने तर अवसर पाउँदा अवसरको पनि सही सदुपयोग गर्न जान्नु पर्ने बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाभित्रका २३ जना वैदेशिक रोजगारीबाट फर्किएका युवा (रिटर्नी) हरूको सहभागिता रहेको छ ।