Butwal Today

अखाद्य वस्तु बिक्री गरेपछि खाद्य सप्लायर्सलाई कारवाही

१८ जेष्ठ २०८०, बिहीबार
अ+
अ-

दाङ, १८ जेठ ।

अखाद्य वस्तु बिक्री वितरण गरिरहेको भेटिएपछि दाङको घोराहीस्थित दुईवटा खाद्य सप्लायर्सलाई कारवाही गरिएको छ । गत सोमबार जिल्ला अनुगमन समितिले घोराही १४ स्थित प्रज्ञा सप्लायर्स र गर्ज सप्लायर्बाट बदमासी भएको ठहर गर्दै कारवाही गरेको छ । अनुगमनका क्रममा बिक्रीमा राखेको चामलको बोरा नयाँ भएपनि भित्र म्याद नाघेको र सडेको चामल भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त अनुगमन टोलीले घोराहीमा थोक बिक्रेताको बदमासी फेला पारेको थियो । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित प्रज्ञा सप्लायर्सको अनुगमनका क्रममा म्याद नाघेको चामल बोराबाट निकालेर नयाँ बोरामा राख्दै प्याकिङ गर्दै गरेको फेला परेको थियो । बोरामा कम्पनीको नाम, लेबलिङ, उत्पादन मिति, उपभोग्य मिति यकिन नगरेरै म्याद नाघेका र सडेका चामल नयाँ बोरामा खन्याउँदै सिलाउँदै गर्दै बेच्दै गरेको खुलेपछि जिल्ला अनुगमन समितिले बुधबार कारवाही गरेको छ ।

उक्त सप्लायर्सको गोदाम भरी लेबल नगरिएका चामलका बोरा, म्याद नाघेका चामल, दाल, चिनीलगायतका गुणस्तरहीन खाद्य सामग्री फेला परेको अनुगमन संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन् ।

सप्लायर्सका सञ्चालक पोषण कुमार गुप्ताले घुन र धुलो सफा गरेर नयाँ बोरामा प्याकिङ गरिरहेको बताए पनि गोदाममा घुन लागेका र बिग्रेका चामल बालुवा चालेझै चालेर सफा गरेपछि बोरामा प्याकिङ गरिरहेको अवस्थामा संयुक्त अनुगमन टोलीले फेला पारेको थियो ।

घरमै रहेको पसल र गोदाममा म्याद नाघेका चामलका बोरा खोली नयाँ बोरामा पुनः प्याकिङ गर्न लागेको फेला परेको मुचुल्का बनाएर अनुगमन टोलीले सोमबार गोदाम सिल गरेको थियो । मुचुल्कामा गोदाममा रहेको चामल, सिमीको दाल, मसुरोको दाल, लेबल नभएको चनाको बोरा, बोरामै डल्लो परेको चिनी फेला परेको थियो । साथै गोदाममा सरसफाइ नभएको, दुर्गन्धित भएको, खाद्य सामग्रीमा विषादी प्रयोग भएको समेत पाइएको बताइएपछि बुधबार संयुक्त बैठकले कारवाही गरेको उनले बताइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी पुनले प्रज्ञा सप्लायर्सलाई सरसफाइ नगरेको, ब्रान्ड अनुसार सामान नबेचेको, सडेगलेका सामान बेचेको लगायत कैफियत देखिएपछि उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुसार पचास हजार जरिवाना गरिएको जानकारी दिइन् । उनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्दै कानुन बमोजिम कारवाही गरिएको बताइन् ।

प्रशासन कार्यालयले खरिद गरिएको सामग्रीमा खरिद बिक्री बिलसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन सञ्चालकलाई समय दिएर फेला परे जतिका अखाद्य सामान एउटा गोदाममा राखेर सिल गरेकोमा बुधबार संचालकलाई कानुन अनुसार कारवाही गरिएको उनको भनाई छ ।

यसैगरी, खाद्य तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश कुमार चौधरीले लेबल नलगाएका सामग्री बिक्री वितरण गरिनु कानुनविपरीत भएको उल्लेख गर्दैै म्याद नाघेका सामग्री रिप्याकिङ गरेर बेच्नु अपराध भएको बताए । उनका अनुसार, बुधबार खाद्य तथा गुण नियन्त्रण कार्यालयले चामल र दालको नमुना संकलन गरी परिक्षणका लागि नेपालगञ्ज लगेको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेलले कम्पनीबाट सामान ल्याउँदा लेबलबिनाका सामग्री खरिद गर्दा समस्या देखिने गरेको बताए । व्यवसायीले सामान खरिद गर्दा लेबल बिनाका सामान ल्याउनुहुँदैन भनेर बारम्बार भन्दै आएको बताए । म्याद नाघेका र सडेका अखाद्य सामग्री रिप्याकिङ गरी बेच्नेलाई कानुनी कारवाही गर्नुको विकल्प नरहको उनको भनाई छ । जस अनुसार, प्रज्ञा सप्लायर्स कारवाहीमा परेको बताए ।

यसैगरी, अनुगमन टोलीले घोराही १५ स्थित बालमन्दिर रोडमा गर्ज अम्बिका सप्लायर्समा अनुगमन गर्दा लेबल नभएको २५ किलोको सफल मोटा चामल ८१ बोरा, भारतीय चना लेबल नलगाएको ३० किलोको आठ बोरा, लेबल नलगाएको मसुरो दाल २५ किलोको २७ बोरा र दुई वर्ष पहिले म्याद नाघेको चामल दुई बोरा फेला पारेको थियो । दुई लाख १८ हजार सात सय बराबरको खाद्यान्न त्यहींको कोठामा राखेर जिल्ला प्रशासन कार्यालयले सिल गरेकोमा बुधबार सो सप्लायर्सका संचालकलाई ३ दिनभित्र लेबल नगरेका ८१ बोरा चामलसहित खाद्यान्न खरिद गरिएको ठाउँमा फिर्ता पठाउन भनिएको छ । जसको निस्सा पेश गर्न भनिएको छ ।

सुनिलकुमार थापा सञ्चालक रहेको उक्त पसलका म्यानेजर रोहिताश शर्माको रोहबरमा कोठा सिल गरिएको थियो । आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने तथा बिलविजक जारी नगरिएका अवैध कारोबार कानुन विपरीत रहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी पुनले खाद्य सुरक्षामा सबैलाई गम्भीर बन्न अपिल गरेकी छन् । बुधबारको अनुगमनमा घोराही –१४ स्थित ऋद्धिसिद्धि ईम्पेक्समा पनि केही खाद्य बस्तु म्याद नाघेको फेला परेको थियो । जसमा छोडा नष्ट गरिएको छ भने डाबरको मह आपूर्तिकर्तालाई फिर्ता गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?