Butwal Today

आज पनि वर्षा र हावाहुरीको सम्भावना

११ जेष्ठ २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आज पनि देशका विभिन्न स्थानमा वर्षा र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले बिहान पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम बदली (आकाशामा बादल) भएको छ भने ती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ।

‘कोशी प्रदेशको पहाडी भेगमा मौसम बदली छ भने देशका बाँकी प्रदेशमा मौसम सामान्यतया सफा (२५ प्रतिशत आकाशमा मात्र बादल) छ’, उनले भनिन्।

मौसम महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश,  बागमती  प्रदेश,  गण्डकी  प्रदेश,  कर्णाली  प्रदेश  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थान तथा देशका बाँकी  प्रदेशका  थोरै  स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना  छ।

‘दिउँसोतिर काठमाडौं उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ’, मौसमविद् कँडेलले भनिन्।

यस्तै दिउँसो तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको  केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना छ।

यस्तै राति पनि तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आगामी  २४  घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का  लागि  चेतावनी  तथा  परामर्श पनि जारी गरेको छ।

त्यसमा भनिएको छ– कोशी  प्रदेश,  मधेश  प्रदेश,  बागमती  प्रदेश  र  सुदूरपश्चिम  प्रदेशको  केही  स्थान  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ। साथै देशका तराईका केही स्थानमा हावाहुरीको सम्भावनासमेत भएको हुनाले  त्यसबाट  हुन  सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक  सतर्कता अपनाउन हुन अनुरोध छ।

बुधबार भएन भारी वर्षा 
बुधबार (हिजो) कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षा पनि हुने अनुमान मौसमविद्ले गरेका थिए। तर कतै भारी वर्षा नभएको मौसमविद्ले नै बताएका छन्।

‘आज पनि भारी वर्षाको सम्भावना छैन’, मौसमविद् कँडेलले भनिन्।

मौसमविद्का अनुसार नेपालमा उपलब्ध प्रविधिअनुसार मौसम अनुमान ८० देखि ९० प्रतिशतसम्म मिल्छ। यसर्थ कतिपय अवस्थामा ठ्याक्कै नमिल्न पनि सक्छ।