Butwal Today

व्यक्तिको जग्गामा नगरपालिकाको भवन

२५ बैशाख २०८०, सोमबार
अ+
अ-

बुटवल, २५ वैशाख ।

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. १२ मक्रहर गाउँको वडा कार्यालय भवनको ठिक पछाडि व्यक्तिको जग्गा मिचेर तिलोत्तमा नगरपालिकाले भेटनरी कार्यालय वनाएको छ ।

कृष्ण शर्मा पौडेलको भोगाधिकारमा रहेको ३७२ नम्बर कित्ताको करिव ३ कट्ठा १७ धुर जग्गामध्ये नगरपालिकाले ७ धुर जग्गामा भेटनरीको भवन निर्माण गरेको छ ।

पौडेल परिवार कामको सिलसिलामा विदेशमा रहेको र घरमा कोही नभएको अवस्थामा नगरपालिकाले पौडेलको जग्गामा भेटनरी घर निर्माण गरेको स्थानीयले जनाएका छन् ।

उक्त जग्गामध्ये केही धुर जग्गा गाउँब्लकमा पर्ने र सरकारले गाउँब्लक जग्गाको पुर्जा प्रकृया पूरा गरेर सम्वन्धित जग्गा धनीलाई बितरण गरिरहेको बेला नगरपालिकाले भने पौडेलको गाउँब्लकको जग्गामा भवन निर्माण गरेको हो ।

पौडेलका छोरा कृष्णप्रसाद शर्माले आफूहरु कामको सिलसिलामा विदेशमा रहेको बेला स्थानीय केही व्यक्तिको मिलेमतोमा नगरपालिकाले आफूहरुको जग्गा मिचेर भवन वनाएको बताए ।

उनले भने– सरकारले गाउँब्लकको जग्गाको पुर्जा वितरण गरिरहेको छ, तर हाम्रो जग्गाको पुर्जा दिनुको साटो नगरपालिकाले भेटनरी भवन बनाएर ठूलो अन्याय गरेको छ ।

शर्माले नगरपालिका र वडा कार्यालयमा पत्राचार गरेर जग्गा ब्यवस्थित गर्न पहल गरेपनि आफूहरु विदेशमा रहेकोले नगरपालिकाले कुनै वास्तै नगरेको गुनासो गरे ।

उनले नगरपालिकामा आफूहरुको जग्गा प्रकृया पूरा गरेर पुर्जाका लागि निवेदन दिएपनि त्यसलाई वास्तै नगरी उल्टै आफूहरुको जग्गा मिचेर सरकारी भवन बनाएकोमा आफूहरु ठूलो अन्यायमा परेको बताए ।

मक्रहर गाउँमा त्यसैपनि ऐलानी जग्गा धेरै छ । त्यसमाथि त्यहाँका कतिपय घर जग्गाहरुको लालपुर्जा अझै पनि कायम भएको छैन । चालिसको दशकपछि बनेका सबैजसो घरहरु नम्बरी जग्गामा छन् भने त्यसअघि बनेका घरहरु अहिलेसम्म पनि अव्यवस्थित रहेका छन ।

नगरपालिकाले ती घरलाई व्यवस्थित वनाउने प्रयास गर्नुको साटो उल्टो जग्गा नै अतिक्रमण गरेर नगरबासीलाई विस्थापित वनाउने प्रयास गरेको छ ।

उता तिलोत्तमा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सहदेवप्रसाद चौधरीले उक्त भवन अघिल्लो जनप्रतिनिधिको कार्यकालमा निर्माण भएको बताउँदै पौडेलकै आफन्त र स्थानीयको सहमतिमा निर्माण भएको वताए ।

व्यक्तिको जग्गामा नगरपालिकाको भवन किन र कसरी निर्माण भयो भन्ने प्रश्नमा वडा अध्यक्ष चौधरीले त्यसमा उहाँकै आफन्तहरुको सहमति भएपछि मात्र भवन निर्माण गरिएको दावी गरे ।

उता जग्गा धनी कृष्णप्रसाद शर्माले भने आफूहरुले नगरपालिकाको भवन वनाउन कुनैपनि सहमति नगरेको बताए ।

शर्माले भने– हामी देश बाहिर छौं, आफ्नो जग्गामा भवन वनाउने बिषयमा हामीसंग कुनै सल्लाह र परामर्श नै गरिएन ।

स्मरणीय छ तिलोत्तमा नगरपालिकाका अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले वडा नं. ११ र १२ मा रहेका ऐतिहासिक पोखरी मासेर वडा कार्यालय भवन निर्माण गरेपछि चौतर्फी आलोचना भएको थियो ।

सरकारले पोखरी र तालतलैया संरक्षण गर्ने नीति लिएपनि नगरपालिकाले भने पोखरी पुरेर वडा कार्यालय वनाएपछि केही समय विवादका कारण भवन निर्माण रोकिएको थियो । पछि नगरपालिकाले जबरजस्ती वडा कार्यालय भवन वनाएको थियो ।

शर्माको गुनासो छ– अहिले सुकुम्वासी र ऐलानी जग्गाको नापजाँच गरि पुर्जा वितरण गर्ने काम चलिरहेको छ तर हाम्रो जग्गाको पुर्जा दिने कुरा त के निवेदन पनि नलिने प्रयास गरियो, हामीमाथि ठूलो अन्याय भएको छ ।