Butwal Today

न्यायाधीश बिदामा बसेपछि सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

२४ बैशाख २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ नहुने भएको छ। आजका लागि इजलास नं १३ मा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पेशी तोकिएको थियो। तर न्यायाधीश ढकाल बिदामा बसेका कारण सुनुवाइ नहुने भएको हो। मुद्दाको सुनुवाइ स्थगित गरिएको अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए।

यसअघि वैशाख ११ गते अढाई घण्टा बहस भएर पनि मुद्दाको फैसला हुन सकेको थिएन। जाहेरवालाका ५ कानुन व्यवसायीले बहस गरेपनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराख्ने भनेपछि फेरि सुरुबाटै सुनुवाइ हुने भएको हो।

सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौ २० गते बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

पछि उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै सन्दीप छुटेका थिए। सर्वोच्चले पनि सन्दीपलाई छाड्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि फकुवा गरेको थियो। सर्वोच्चले त्यतिबेलै मुद्दा छिटो फैसला गर्न जिल्ला अदालतलाई भने पनि जिल्ला अदालतमा पटक पटक सर्दै आएको छ।