Butwal Today

सरकार गठनमा प्रदेश प्रमुख अलमलमा, महान्यायाधिवक्ताको कार्यालयसँग राय माग

१२ बैशाख २०८०, मंगलवार
अ+
अ-

बुटवल, १२ बैशाख ।

नयाँ सरकार गठनका विषयमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन अलमलमा परेका छन् । सोमबारदेखि नै कानुन व्यवसायीसँग परामर्श गरिरहेका उनी अवको सरकार संविधानको धारा १६८ (२) अनुसार गठन गर्ने कि १६८ (३) अनुसार भन्नेमा अलमल देखिएका हुन् ।

कानुन व्यवसायीसँगको परामर्शपछि पनि निर्णय गर्न नसकेका उनले सोमबार राति नै महान्यायाधीवक्ताको कार्यालय काठमाडौंमा पत्राचार गरी लिखित राय मागेका छन् । विश्वासको मत पाउन नसकेपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र ८ दलीय गठबन्धनले अलग–अलग धाराको प्रयोग गरेर सरकार गठनको दावी पेश गरेपछि शेरचनले महान्याधिवक्ताको कार्यालयसँग लिखित राय मागेका हुन् ।

सोमबार मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि एमाले संसदीय दल र कामचलाउन सरकारको मन्त्रिपरिषद बैठकले धारा १६८ (३) अनुसार पहिलो दल एमालेको नेतृृत्वमा सरकार बनाउन आव्हान गर्न आग्रहसहितको दावी पेश गरेको छ । तर ८ दलका ५३ सांसदहरुले कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनाउन दावी पेश गरेका छन् ।

सोमबार दुवै पक्षलाई प्रदेश प्रमुख शेरचनले आफूले कानुनविद्सँग सल्लाह गर्ने र छिटै निर्णय लिने जनाएका थिए । ‘बजेट बनाउने समय आएको छ, यो समयमा सरकारबिहीन अवस्था धेरै राख्नुहुन्न भन्नेमा म क्लियर छु, कानुनको अध्ययन भइरहेको छ, सकेसम्म सरकार बनाउने, ढलाउनेतिर नजाओस् भन्ने चाहना हो’ प्रदेश प्रमुख शेरचनले भनेका छन् ।

संविधानको धारा १६८ को २ अनुसार संयुक्त सरकार गठनको आह्वान गर्ने कि धारा १६८ को ३ अनुसार सबैभन्दा ठूलो दललाई सरकार गठन गर्न दिने भन्नेमा शेरचन प्रस्ट हुन नसकेका हुन् ।

गत पुस २७ मा संविधानको धारा १६८ को २ अनुसार गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । माओवादीसहित ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका उनले माघ ५ मा विश्वासको मत लिएका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि भने प्रदेशसभाबाट विश्वासको मत नपाएका हुन् । एमालेले यसअघि सुदूरपश्चिममा धारा १६८ को २ अनुसार दुईभन्दा बढी दलको समर्थनमा नियुक्त तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुरुमै विश्वासको मत पाउन नसकेपछि धारा १६८ को ३ अनुसार ठूलो दलको हैसियतमा कांग्रेसका कमलबहादुर शाहलाई मुख्यमन्त्री नियुक्त गरिएको भएका कारण यहाँ पनि आफ्नो नेतृत्व पाउने अपेक्षा गरेको छ । धारा १६८ को ३ मा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीले मुख्यमन्त्री गिरी राजीनामा दिएर विश्वासको मत नपाएका कारण पदमुक्त भएकाले धारा १६८ को ३ अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दावी पेश गरेको बताए ।

‘मुख्यमन्त्रीले राजीनामा दिएको भए त्यही धाराअनुसार अर्को सरकार गठनको विकल्पमा जान सकिन्थ्यो, ‘विश्वासको मत नपाएपछि त धारा १६८ को ३ अनुसार ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने स्पष्ट भनिएको छ, यसमा प्रदेश प्रमुखबाट जालझेल नहोस् भन्ने आग्रह हो, कानुनभन्दा बाहिर जाने छुट उहाँलाई पक्कै छैनहोला ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?