Butwal Today
प्रथम सिद्धेश्वर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता २०८०

सिद्धेश्वर टिम च्याम्पियन

१० बैशाख २०८०, आइतबार
अ+
अ-

बुटवल, १० बैशाख ।

रुपन्देहीमा सम्पन्न प्रथम सिद्धेश्वर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता २०८० मा सिद्धेश्वर तेक्वान्दो डोजाङ च्याम्पियन भएको छ । युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ सिद्धेश्वर तेक्वान्दो एकेडेमीको आयोजनामा तिलोत्तमा नगरपालिकास्थित पामिर ईन्टरनेशनल एकेडेमीमा भएको खेलमा ९ स्वर्ण, १ रजत र २ कास्य पदक जित्दै सिद्धेश्वर तेक्वान्दो डोजाङ च्याम्पियन बनेको हो ।

प्रतियोगितामा ७ स्वर्ण र १ कास्य जित्दै जितगढी तेक्वान्दो डोजाङ दोस्रो तथा ५ स्वर्ण, २ रजत र २ कास्य जित्दै नहरपुर तेक्वान्दो डोजाङ तेस्रो भएको छ । प्रतियोगितामा जितगढी तेक्वान्दो डोजाङका प्रशन गुरुङ र नहरपुर तेक्वान्दो डोजाङकी तेनिशा जिएम उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भए ।

एक समारोहका बीच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य राजकुमार पाण्डे, तिलोत्तमा नपा वडा नं २ का वडाअध्यक्ष दिल बहादुर भट्टराई, पामिर ईन्टरनेशनल एकेडेमीका प्रधानाध्यापक गोपाल गौतम, रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रकाशमान राजभण्डारी, मध्यबिन्दु टोल विकास समितिका अध्यक्ष हर्क बहादुर टण्डन, पामिर ईन्टरनेशनल एकेडेमीका खेलकुद तथा संगीत प्रशिक्षक नवीन शाक्यले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा रुपन्देहीका १४ वटा विद्यालय तथा तेक्वान्दो डोजाङका १ सय ५० खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गरेको लुम्बिनी प्रदेश तेक्वान्दो संघका सदस्य तथा डोजाङका अध्यक्ष राजिव सिह क्षेत्रीले बताए ।