Butwal Today

महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित

३० चैत्र २०७९, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। अर्का प्रत्याशी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्जन निर्विरोध महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका हुन्।

पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा निर्वाचन हुने भनिएकोमा उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच सहमति भएको हो।

सहमति जुटेसँगै उमेशलालले अन्जनलाई समर्थन गरेका हुन्।

को हुन् अन्जन?
वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका अन्जन श्रेष्ठ यसअघि वस्तुगत उपाध्यक्ष थिए। उनी लक्ष्मी ग्रुपका निर्देशक हुन्।

पोखरामा डेरी उद्योगबाट आजभन्दा ३० वर्षअघि व्यावसायिक क्षेत्रमा लागेका उनी अहिले नेपालको स्थापित व्यवसायीमा गनिन्छन्।

उनको उत्पादनमूलक उद्योग र व्यापारिक क्षेत्रमा लगानी छ। सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरीको व्यवसाय हाँकेका श्रेष्ठको व्यापारतर्फ जाइमा लक्ष्मी ट्रेडिङ छ। यसले चिनी, दूध पाउडर, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी, विभिन्न प्रकारका प्लास्टिक ग्रेन्युल, पाम कर्नेल तेल, पाम आयलको व्यापार गर्दै आएको छ।

त्यस्तै अटोमोटिभ लक्ष्मी ग्रुपको महत्वपूर्ण व्यवसाय हो। उसले कोरियन कम्पनी हुन्डाई प्यासेन्जर भेहिकल्सको आधिकारिक बिक्रेताको काम पनि गरिरहेको छ।

यसले सवारी पार्टपुर्जा, लुब्रिकेन्ट समेत बिक्री गर्छ। त्यसका साथै एसएमएल इसुजु कम्पनीको समेत नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप हो। साथमा प्रिमियम अटो ब्राण्ड बीएमडब्लु गाडीको समेत लक्ष्मी ग्रुप आधिकारिक बिक्रेता हो।

अन्जन श्रेष्ठलाई व्यावसायिक क्षेत्रमा स्थापित गराएकै अटोमोबाइलले हो। हुण्डाई गाडी नेपालमा सर्वाधिक बिक्री हुनेमा पर्छ।