Butwal Today

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम, तीनवटै उजुरीको दाबी पुगेन

२२ चैत्र २०७९, बुधबार
अ+
अ-

काठमाडौँ ।

चितवन क्षेत्र नं.२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवार कायम भएको छ। उनीविरुद्ध दर्ता भएका तीनवटा उजुरीमा दाबी नपुगेको निष्कर्ष निकाल्दै  मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो।

सहायक निर्वाचन अधिकृत इश्वर आचार्यका अनुसार रविविरुद्ध दुईजना स्वतन्त्रसहित तीनजना उम्मेदवारले उजुरी गरेका थिए।

आचार्यले तीनैजनाको उजुरीमा दाबी नपुगेपछि रविको उम्मेदवारी कायमै राख्ने निर्णय भएको छ। उता काठमाडौंबाट युवराज पौडेल ‘सफल’ले ईमेलबाट दिएको उजुरीको निर्णय निर्वाचन आयोगले गर्ने भएको छ। यसबारे आयोगले रविसँग ७ दिनभित्रमा जवाफ मागेको छ।

उता तीनवटा उजुरीबारेमा रविले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उपस्थित भएर ६ पृष्ठ लामो जवाफ पेश गरेका थिए।

यसअघि लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा उम्मेदवारी दिएको भन्दै उजुरी परेको थियो।

तिनै उजुरीका आधारमा लामिछानेसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसोसम्म स्पष्टीकरण मागेको थियो।

चितवन २ मा लामिछानेसहित अब २४ जनाको उम्मेदवारी कायम भएको छ।

गत मंसिर ४ गतेको निर्वाचनमा विजयी लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएको थियो। सर्वोच्चको फैसलापछि उनले माघ १३ गते सबै पद गुमाएका थिए।