Butwal Today

टस हारेपछि पिएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

२५ फाल्गुन २०७९, बिहीबार
अ+
अ-

 काठमाडौँ । 

नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस हारेको छ। नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा बिहान पीएनजीले नेपालविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ।

नेपालको लक्ष्य शीर्ष ५ मा रहेर ओडीआई मान्यता जोगाउने छ। नेपालको ओडीआई मान्यता जोगाउन दुई खेल जित्न आवश्यक छ। ओडीआई मान्यतापछि नेपालको लक्ष्य सीधै विश्वकप छनोट खेल्ने हो।

यसअघि यूएईमा भएको त्रिकोणात्मक सिरिजमा पीएनजीलाई दुवै खेलमा हराएको नेपाल घरेलु मैदानमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ।

घरेलु मैदानमा हुने सिरिज क्लिन स्विप गर्न सके नेपालले आगामी जुनमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गर्नेछ।

एक खेलमा हार भोगेको अवस्थामा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्नेछ। क्वालिफायरको शीर्ष २ मा पर्न सके नेपालले विश्वकप छनोट खेल्न पाउनेछ। छनोट हुन नसकेको अवस्थामा नेपालको विश्वकप सपना फेरि पनि अधुरै रहनेछ।

लिग २ अन्तर्गतका पछिल्ला ८ खेलमा नेपालले ७ खेल जितेको छ।

घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियालाई हराएको नेपालले यूएई भ्रमणमा पनि ४ मध्ये ३ खेल जितेको थियो।

लिग २ अन्तर्गतका ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंक जोडेको नेपाल  पाँचौं स्थानमा छ। नेपालले लिग २ का बाँकी सबै खेल जित्दै ४० अंक बनाउ सके शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्नेछ।

विश्वकप छनोटमा नेपाल, यूएई र नामिबियामध्ये १ टोलीले विश्वकप छनोटमा स्थान पक्का गर्नेछ। लिग २ का सबै ३६ खेल खेलेको नामिबियाको ३९ अंक छ। नेपालले सोझै विश्वकप छनोट खेल्न यूएई र नामिबियालाई अंक तालिकामा पछि पार्नुपर्ने हुन्छ।

यूएईलाई ओडिआई मान्यता जोगाउन ४ मध्ये ३ खेल जित्नुपर्ने दबाब छ। यूएईले अबका बाँकी खेलमा फराकिलो हासिल गर्न सके शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न खेल्न पाउनेछ।

उता ९ अंक रहेको पीएनजीले अबका सबै खेल जिते पनि तालिकाको पुछारमै रहनेछ।