Butwal Today

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुटवलमा प्रदर्शन

२४ फाल्गुन २०७९, बुधबार
अ+
अ-

बुटवल, २४ फागुन ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको अमरपथमा प्रदर्शन गरेको छ । कार्यक्रममा महिला अधिकार, मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लगाएतका नाराहरु लेखिएका ब्यानर र प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा सहभागीहरुले सामाजिक न्याय र समानताको आन्दोलनमा सदैव क्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

सो अवसरमा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार तथा निवर्तमान सभापति गोविन्द खनालले महिलामाथि हुने हिंसा, विभेद, अन्याय र अत्याचार अन्त्यका लागि समाजमा सचेतनाको जरुरी रहेको बताएका छन् । संबिधान र कानुनमा महिला हिंसा, अन्याय र अत्याचारका बिरुद्ध लिपिबद्ध गरिएका कतिपय अधिकार र हक ब्यबहारिक रुपमा कायम हुन नसक्दा श्रमिक महिलाहरुको उचित सम्मान हुन नसकेको भन्दै निवर्तमान सभापति खनालले टिप्पणी समेत गरेका छन् ।

प्रदर्शन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, तितेपाती वचत तथा ऋण सहकारीका अध्यक्ष कमला बस्नेत कुँवर, शान्ति समाज रुपन्देहीका सभापती खिमप्रसाद भट्टराई(कृष्ण), उपसभापति कपिल ज्ञवाली, सहसचिव सिता पौडेलले नेपाली समाजमा अझै पनि महिलामाथि विभेद रहेकाले समानताका लागि सरोकारवालाहरु एकजुट हुनुपर्ने आवश्यक्ता रहेको बताएका थिए ।

सैनामैनामा स्वास्थ्य शिविर सम्पन्न

नारी दिवसकै अवसरमा महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको सैनामैनामा निःशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । बुटवलस्थित साझा हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा सैनामैना नगरपालिका वार्ड नं. ६ झाला कैंयारेटोलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो । शिविरमा १ सय ५० जना महिला तथा बालबालीकाले सेवा लिएको र बिशेषतः बिपन्न तथा दलित महिला तथा बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ परीक्षण तथा औषधी प्रदान गरिएको शान्ति समाजले जनाएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गाउँ बस्तीमै पुगेर विशिष्ट स्वास्थ्य सेवा (भिडियो एक्सरे, ल्याब परिक्षण, औषधि तथा विशेषज्ञ परामर्श सेवा समेत प्रदान गरी “अधिकार अब व्यबहारमा” भन्ने नारालाई ब्यवहारमा लागु गरिएको शान्ति समाजका जिल्ला सभापति खिमप्रसाद भट्टराईले बताए । सो अवसरमा सहभागी वक्ताहरुले यस अभियानमा नागरिकको स्वास्थ्य अधिकारलाई प्रत्याभुत गराउन सबैले हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सो कार्यक्रममा सैनामैना नगरपालीकाका मेयर फणिन्द्र प्रसाद शर्मा, महिला रोग बिशेषज्ञ डा. प्रदिप कुमार श्रीवास्तव, बाल रोग बिशेषज्ञ डा. अनिल खनाल, डा. सपना बलाल, वडाअध्यक्ष गोपल पोख्रेल, वडा सदस्यहरु माया बिक, गिता घिमिरे, समाजसेवी रणबहादुर खनाल, किरण पौडेल लगायतले महिलाहरुको स्वास्थ्यप्रति सबैले ध्यान पु¥याउनु पर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।