Butwal Today

शर्माको सत्रौँ कृति अधिकारी वंशधर नियाल्दा विमोचन

९ फाल्गुन २०७९, मंगलवार
अ+
अ-

दाङ, ९ फागुन ।

साहित्यकार एवं स्तम्भकार पद्मप्रसाद शर्माको सत्रौँ कृति अधिकारी वंशधर नियाल्दा इतिहास विमोचन भएको छ ।

क्षेत्रीय अधिकारी समाज दाङको आयोजनामा घोराही –१७ पनौरास्थित विन्ध्यवासिनी मन्दिर परिसरमा आज उक्त कृति विमोचन भएको हो । कृतिकार शर्माले अधिकारी वन्धुहरुको वंशावली खोतल्नेदेखि यसभित्रका घटना परिघटनालाई उजागर गर्ने आधार बनेको हुँदा यसको उपयोगमा सबै लाग्नुपर्ने वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष रमेशकुमार अधिकारीले अधिकारी वंशधर नियाल्दा प्रकाशित कृतिले अधिकारी समाजलाई इतिहासदेखि वर्तमान बुझ्ने भोक जगाउने काम गरेको बताए । समाजका अनेकन चरित्रमा सांस्कृतिक, प्राकृतिक सम्पदामाथि प्रहार भईरहेको हुँदा आफ्नो सम्पदा संरक्षणमा सचेत बन्नुपर्ने उनको भनाई थियो । उदयपुरे अधिकारीले समाजमा ईज्जत कमाएको हुँदा प्रतिष्ठा जोगाउँदै विरासत जोगाउने अभियानमा जुट्न उनको अपिल थियो ।

उनका अनुसार, प्रेमनिधि अधिकारी शिवपुरले बनाएको अधिकारी वंशावली, यादव अधिकारीले संकलन गरेको अधिकारी वंशावलीको नाम ठेगाना, उदयपुरे अधिकारीको वंशावलीमा प्युठान उदयपुरको ईतिहास समेत समावेश भएको तथा साहित्यकार पद्मप्रसाद शर्माले प्रकाशित गरेको अधिकारी वंशधर नियाल्दा समाजका लागि अर्को महत्तपूर्ण दस्तावेज भएको बताए ।

उक्त कृतिको समिक्षा थानेश्वर शर्मा अधिकारी, खेमराज शर्माले गरेका थिए । कृति अधिकारी समाजको अवस्था बोल्ने महत्त्वपूर्ण दस्तावेज भएको हुँदा यसका आयामबाट समाजले लाभ उठाउन सक्नुपर्ने समिक्षकहरुको भनाई थियो ।

कृतिका लेखक शर्माले अधिकारी समाजको इतिहासदेखि वर्तमानको अवस्थालाई उजागर गर्न कृतिले समेट्न खोजेको बताउँदै कृति अधिकारी समाजको साझा सम्पत्तिका रुपमा सार्वजनिक गरिएको बताए । एतिहासका कुरालाई संकलन गरेर भाबी पुस्तालाई हस्तान्तरण गरे मात्र संस्कार र संस्कृति हस्तान्तरण हुने बताए ।

कार्यक्रममा समाजका रोमहर्ष अधिकारी, श्रीधर अधिकारी, शिव विन्ध्यवासिनी मन्दिर अध्यक्ष कुलराज अधिकारी, पवित्रा शर्मा, निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीलगायत बोलेका थिए ।

क्षेत्रीय अधिकारी समाज दाङका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षता समाजका विधान मस्यौदा समितिका संयोजक एवम् केन्द्रीय अध्यक्ष रमेशकुमार अधिकारीको प्रमुख आतिथ्यमा भएको विमोचन कार्यक्रममा वक्ताहरुले अधिकारी समाजको इतिहासदेखि वर्तमानको अवस्था उजागर गर्ने कामलाई दस्तावेजीकरण गरिनु प्रशंसनीय काम भएको बताए ।

क्षेत्रीय उपाध्यक्ष नरबहादुर अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कृति विमोचनको सहजीकरण क्षेत्रीय सचिव विमल अधिकारीले गरेका थिए ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?