Butwal Today

झिमरुकको समृद्धिका लागि बृहत कार्यशाला

७ फाल्गुन २०७९, आइतबार
अ+
अ-

प्यूठान, ७ फागुन ।

झिमरुकको समृद्धिका लागि बृहत कार्ययोजना बनाउने उद्देश्यले गाउँपालिकाले कार्यशाला गोष्ठीको आयोजना गर्दैछ । भोली (सोमवार) देखि संचालन हुने गोष्ठी दुई दिनसम्म संचालन चल्ने छ ।

क्षेत्रगत रुपमा विषय विशेषज्ञहरु सहभागी कार्यक्रममा अवको झिमरुक कस्तो बनाउने भन्ने विषयमा बृहत्तर छलफलबाट निष्कर्ष निकालिने छ । विषय विशेषज्ञहरुले क्षेत्रगत रुपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारी दिए । ‘गाउँपालिकाको क्षेत्रगत विकासको अवधारणा गोष्ठीबाट निर्माण हुनेछ’, रिजालले भने, ‘यो कार्यक्रम गाउँपालिकाको समृद्धिका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरेका छौँ ।’ गाउँपालिका स्थापना भएपश्चात पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरिएको रिजालले बताए ।

गोष्ठीमा प्यूठानका प्रतिनिधिसभा सदस्य सूर्य थापा सहितका विज्ञहरुको उपस्थिति हुनेछ । गाउँपालिकाको पूर्वाधार विकासतर्फ इन्जिनियर छवी पोखरेलले अवधारणा प्रस्तुत गर्नेछन् । उनी लुम्विनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइयो) समेत हुन् ।

कृषि तथा पशुपंक्षी विकासतर्फ कृषि विज्ञ मुकेश रामजाली, सहरकारी गरिबी निवारण तथा रोजगारी सृजनातर्फ सहकारी विज्ञ रविन्द्र केसी, शुसासन तथा संस्थागत विकास तर्फ डा.शैलेन्द्र गिरी, शिक्षा तर्फ प्रा.डा.विष्णुप्रसाद पोखरेल, स्वास्थ्यतर्फ जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे र कृषि क्षेत्रतर्फ अवधारणा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्रमुख चुमान गिरीले क्षेत्रगत रुपमा अवधारणा प्रस्तुत गर्नेछन् । गाउँपालिका कार्यालयमा गोष्ठी संचालन हुनेछ ।

सवैको साझा अवधारणाबाट मात्र गाउँपालिकाको समृद्धि हासिल गर्न सकिने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले विश्वास लिए । अवधारणा प्रस्तुत गर्ने विज्ञहरु अधिकांश गाउँपालिकाबासी हुन् । कृषि तथा पशुपंक्षी, ग्रामीण पर्यटन र खेलकुदको क्षेत्रमा यो गाउँपालिका संभावना भएको क्षेत्रको रुपमा चिनिन्छ ।