Butwal Today

बाँकेका घरघरमा म्याद सकिएका सिलिण्डर

६ फाल्गुन २०७९, शनिबार
अ+
अ-

बाँके, ६ फागुन ।

बाँके जिल्लाको नेपालगञ्ज, कोहलपुर, खजुरा र राँझालगायतका क्षेत्रका छ हजारभन्दा बढी परिवार ग्यास सिलिण्डर विस्फोटनको उच्च जोखिममा रहेको पाइएको छ ।

जिल्लामा ग्यास उत्पादन गर्ने दुई कम्पनीले बजारमा ठूलो सङ्ख्यामा म्याद सकिएका, लिकेज भएका, बिग्रेका र कुच्चिएका सिलिण्डर बजारमा पठाएपछि छ हजारभन्दा बढी परिवार विस्फोटनको उच्च जोखिममा परेका हुन् ।

काठमाडौँ र दाङमा सिलिण्डर विस्फोटनका घटनाहरु भएपछि बाँकेका दुई उद्योगमा गरिएको अनुगमनमा छ हजार भन्दा बढी सिलिण्डर म्याद सकिएको, लिकेज भएको, बिग्रेको र कुच्चिएको भेटिएका छन् । उद्योगमा मात्रै यति ठूलो सङ्ख्यामा अत्यधिक जोखिमपूर्ण सिलिण्डर फेला परेपछि उपभोक्ताको घर, होटल र पसलमा भएका २० हजार बढी सिलिण्डरमध्ये अधिकांशको अवस्था पनि त्यस्तै होला भन्ने अनुमान छ ।

जिल्लाको मनकामना ग्यास उद्योग र भेरी ग्यास उद्योगमा अनुगमन गर्दा छ हजार बढी अत्यधिक जोखिमपूर्ण अवस्थाका सिलिण्डर भेटिएकाले जुनसुकै बेला जेसुकै हुनसक्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकृत देवीलाल चौलागाईंले बताए । उनले प्रयोगमा ल्याउन नमिल्ने सिलिण्डर यति धेरै भेटिएकाले बाँके जिल्ला नै जोखिममा रहेको बताए।

भेरी ग्यास उद्योगमा करिब ३ हजार ग्यास सिलिन्डरहरु लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब दुई हजार ५०० वटा ग्यास सिलिन्डर र म्याद सकिन लागेका दुई सय वटा ग्यास सिलिन्डर भेटिएको चौलागाईंले जानकारी दिए ।

मनकामना ग्यास उद्योगमा म्याद समाप्त भएका १६० ग्यास सिलिन्डर, लिकेज, बिग्रेका, कुच्चिएका, जोखिमयुक्त ५० र तत्काल म्याद सकिन लागेका करिब ५० वटा ग्यास सिलिन्डर भेटिएका छन् ।

मनकामना ग्यास उद्योगमा लिकेज जाँच गर्ने मेसिनको प्रयोग नै नगरी ग्यास सिलिण्डर बजारमा पठाउने गरेको समेत पाइएकाले निकै गम्भीर अवस्था रहेको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकृत चौलागाईंको भनाइ छ ।

उद्योगमा र बजारमा रहेका सबै सिलिण्डरको राम्ररी अनुगमन गरी एउटा पनि जोखिमपूर्ण सिलिण्डर बजारमा जान नदिन तत्काल सम्बन्धित निकायले ध्यान दिनुपर्ने नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । उनले नागरिकको जीवनसँग खेलवाड गर्नेहरुलाई तत्काल कानुनको दायरामा ल्याउन समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?