Butwal Today

ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै

४ फाल्गुन २०७९, बिहीबार
अ+
अ-

काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका छन् । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ ।

अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ । सिलिन्डर राति करिब १० बजेतिर  विस्फोट भएको सचिवालयले जानकारी दिएको छ ।

घटनापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरू कीर्तिपुर अस्पताल पुगेका छन्। उनलेे दुवैजनाको उपचार भइरहेको जानकारी दिएका छन्।

‘अस्पतालबाट भर्खर फर्किएको छु। ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षीया माताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेकोे छ’, उनले भनेका छन्।

उनले दुवैजनाको स्वास्थलाभका लागि कामनासमेत गरेका छन्।

डा. भण्डारीले बुधबारको संसद बैठकमा करिब १२ मिनेट लामो सम्बोधन गरेका थिए। उनी मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै विजयी भएका हुन्।