Butwal Today
उपमेयर कप छात्रा भलिबल

जयशेर मावि रावतगाउँलाई उपाधि

११ माघ २०७९, बुधबार
अ+
अ-

दाङ, ११ माघ ।

घोराही उपमहानगरपालिकाले संचालन गरेको तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल प्रतियोगिता २०७९ को उपाधि जयशेर मावि रावतगाउँले जितेको छ । माघ ६ गतेबाट सुरु भएको विद्यालयस्तरीय छात्रा भलिबलको बुधबार भएको फाईनल खेलमा साविक विजेता पद्मोदय पब्लिक नमुना मावि भरतपुरलाई ३–१ को सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

कुल १६ विद्यालय सहभागी प्रतियोगितामा समूह ए बाट पद्मोदय र समूह बी बाट जयशेर मावि फाईनल प्रवेश गरेका थिए । यसअघि पद्मोदय माविले पहिलो र दोश्रो संस्करणको उपाधि जितेको थियो । लगातार तीन पटक जित्दै ह्याट्रिक पूरा गर्ने लक्ष्यमा जयशेर माविले यो पटक रोकेको छ । सो विद्यालय गत मंसिर २७ गते सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा भलिबलतर्फ च्याम्पियन टिम हो ।

प्रतियोगिताको उपाधि विजेता जयशेर माविले नगद ५० हजारसहित शिल्ड मेडल पाउनेछ । उक्त पुरस्कार नगर स्थापना दिवसको अवसरमा माघ १५ गते एक समारोहबीच हस्तान्तरण गरिने प्रतियोगिता आयोजक कमिटी संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले जानकारी दिए ।

पुस २० गतेदेखि माघ ५ गतेसम्म संचालित पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि विजेतासहित उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत एवम् सम्मानित गरिने भएको उनले बताए ।