Butwal Today

राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आज

११ माघ २०७९, बुधबार
अ+
अ-
दाङ,११ माघ।
लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। नेकपा (एमाले)बाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन गर्न प्रदेश निर्वाचन कार्यालय दाङले मिति तय गरे अनुसार आज ११ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
एक वर्ष अवधि रहेको राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले)ले उम्मेदवार सिफारिस गरिसकेका छन्। कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश रठौरको नाम सिफारिस गरेको कांग्रेस दाङका सभापति शंकर डाँगीले बताए । तीमध्ये एकजनालाई उम्मेदवार बनाउन सहमति भएको छ । एमालेले भने रोल्पाका कुमार दशौदीलाई उम्मेदवार बनाउने लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले जानकारी दिए। दशौदी एमालेका केन्द्रीय सदस्य हुन्।
नेकपा एमालेबाट उनको मात्रै नाम सिफारिस भएको छ । आज मनोनयन दर्तापछि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरिने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिए । यही‚ माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ। राष्ट्रिय सभा सदस्य छनोट गर्न प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुख, उप्रमुख गरेर जम्मा ३०५ जना मतदाता छन्।।।