Butwal Today

एउटै दललाई बहुमत नआएपछि देश अस्थिरतामा : रायमाझी

६ माघ २०७९, शुक्रबार
अ+
अ-

अर्घाखाँची, ६ माघ ।

नेकपा एमालेका सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीले देश अस्थीरताको बाटोमा लागेको बताएका छन् । देशमा नेपाली जनताले एउटै राजनीतिक दललाई बहुमत नदिएपछि देश सधै अस्थिरतामा लागेको बताएका हुन् ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोकमा आई लभ यु युवा समूहले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको उदघाटन गर्दै रायमाझीले देशको राज्यव्यवस्थामा परिवर्तन गर्दा सबै राजनीतिक दल मिलेपनि देशमा राजनीतिक अस्थिरता भएको भन्दै देशमा अस्तव्यस्त हुने सिर्जना आउने टिप्पणी गरेका छन् ।

पाचँ दलीय गठबन्धनलाई समेत बहुमत नआउँदा नयाँ सरकार बन्ने र बनेको गिर्ने भन्ने टुंगो नरहेको उनले बताए । बहुमत नहुँदा ५ वर्षसम्म एउटै राजनीतिक दलले सरकार सञ्चालन गर्न गाहृो भएको रायमाझीले बताए । देशमा मंहगी बढेको छ, अर्थतन्त्र विग्रीएको, विकास निमार्णमा अस्थिरतासँगै राष्ट्रियता माथि खतरा रहेको उनले बताए । उनले खेलकुद क्षेत्र राष्ट्रका लागि महत्वपूर्ण भएकोले राज्यले ध्यान दिने बताए ।

पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध भई अगाडि बढ्ने बताए । खेलकुद स्वास्थ्यका लागि सँगै खेलाडी उत्पादन गर्नमा पनि टेवा पुग्ने न्यौपानेले बताए ।

पाणिनी गाउँपालिकाका पुर्व अध्यक्ष अच्युत गौतमले खेलकुद क्षेत्र अनुशासनमा केन्द्रित हुने भएकाले राजनीतिक खेल पनि अनुशासनमा रहनुपर्ने टिप्पणी गरेका छन् । निर्वाचित जनप्रतिनिधि, प्रतिनिधि सभा र प्रदेशसभाका सांसदले संसदमा खेल्ने खेल जनताको पक्षमा हुनुपर्ने बताए ।

कार्यक्रममा पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल, वडा नं. २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल, ६ का अध्यक्ष कृष्णप्रसाद पौडेलले मन्तव्य राख्दै खेलकुदमा हुने विकासले पनि गाउँपालिकाको विकासमा टेवा पुग्ने बताए ।

भलिबल खेलका सत्रहरु भोलिबाट सुरु हँुदैछन् । खेलमा १२ समूहले टिम दर्ता गराएको र टाढाटाढाबाट आउन समय लाग्ने भएकाले शनिबार बिहानबाट खेल सुरु गरिने आयोजकले जनाएको छ । भलिबल खेलमा बिजेतालाई क्रमशः १ लाख १ हजार १ सय ११, द्वितीयलाई ६० हजार ६ सय ६६, तृतीयलाई ४० हजार ४ सय ४४ सहित शिल्ड, ट्रफी, प्रमाणपत्र दिईने आयोजक समितिका सञ्चार संयोजक संगम भट्टराईले बताए । जिल्लामै ऐतिहासिक खेलको सुरुवात पाणिनीको ग्रामीण भेगमा पहिलोपटक सुरुवात भएको हो । कार्यक्रमको उदघाटन सत्र आई लभ यु समूहका अध्यक्ष लोकराज विकको अध्यक्षतामा भएको थियो भने निराजन रसाईली, विकास भट्टराईलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।