Butwal Today

सार्वजनिक जग्गा खाली गर्न टाईगर रिसोर्टलाई अदालतको आदेश

६ माघ २०७९, शुक्रबार
अ+
अ-

बुटवल, ६ माघ ।

जिल्ला अदालत रुपन्देहीले पाँचतारे टाईगर प्यालेस रिसोर्टलाई अतिक्रमण गरेको सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको छ ।

रिसोर्टले मिचेको खाली जग्गा खाली गर्न माग गर्दै परेको रिटमा सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो । स्थानीयले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकोले खाली गर्न माग गर्दै दिएको निवेदनमा सुनुवाई गर्दै जिल्ला अदालत रूपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको हो ।

अदालतबाट बादी दाबी पुग्ने आदेश भएको जिल्ला अदालत रूपन्देहीका इजलास सहायक सन्तोष कुमार मिश्रले बताए । मिश्रका अनुसार फैसलाको पूर्णपाठ आउन भने अझै केही दिन लाग्नेछ ।

उक्त रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले मुद्दा दायर गरेका थिए ।

लुम्बिनी नलकुप जल उपभोक्ता समितितर्फबाट समितिका अध्यक्ष थानेश्वर घिमिरेले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेका थिए ।

हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले तिलोत्तमा नगरपालिकाको कोटिहवामा ५ अर्ब रुपैयाँ बढी लगानी गरी २०७४ सालदेखि रिसोर्ट सञ्चालनमा ल्याएको थियो।

१५ बिगाह क्षेत्रफलमा फैलिएको रिसोर्टले सरकारी र सार्वजनिक जग्गा मिचेर विभिन्न संरचना बनाएको छ । जसमा क्यासिनो, सभाहल, स्वीमिङ पुल, रेष्टुरेण्ट समेत छन्।

अदालतको उक्त आदेशसँगै सरकारी जग्गामा बनेका सबै संरचना भत्काउनुपर्ने हुन्छ।

यता अदालतको आदेशसँगै रिसोर्टमा प्राइम बैंकले लगानी गरेको २ अर्ब ५० करोड संकटमा परेको छ ।

अदालतमा मुद्दा दायर भएकै बखत प्राइम बैंकले २ अर्ब ५० करोड रुपैयाँ रिसोर्टमा लगानी गरेपछि बैंक समेत विवादित बनेको थियो। अदालतको आदेशसँगै बैंकले गरेको लगानी समेत डुब्ने खतरा देखिएको छ ।