Butwal Today

मुख्यमन्त्री गिरीको प्रतिवद्धताः ‘प्रदेशको आर्थिक अवस्था सुधार्न पहल गर्छु’

२८ पुष २०७९, बिहीबार
अ+
अ-

बुटवल, २८ पुस ।

नवननियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आर्थिक अवस्था सुधार गर्ने कुरामा आफ्नो मुख्य ध्यान रहने बताएका छन् । बिहीबार पद तथा गोपनियताको सपथग्रहण गरेपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री गिरीले सबैको साथ लिएर प्रदेशको आर्थिक अवस्था सुधार गर्नेतर्फ अगाडि बढ्ने बताए ।

कृषि, पर्यटन, उद्योगधन्दा र प्राकृतिक सम्पदाबाट लुम्बिनी प्रदेशलाई आर्थिक रुपले बलियो बनाउन सकिने संभावना रहेको र यसका लागि चुनौती पनि रहेको भन्दै मुख्यमन्त्री गिरीले सबै नागरिकको साथबाट चुनौतीको सामना गर्ने पनि बताए ।

अहिले संघीयता र राजनीतिक परिपाटीका विरुद्ध कुराहरु उठिरहेको भन्दै राजनीतिलाई ठिक ठाउँमा राख्ने र प्रदेशलाई बलियो बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

सपथग्रहणपछि तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका गिरीले आजै मन्त्रिपरिषदको पहिलो बैठक राख्ने तयारी गरेका छन् ।

आज मुख्यमन्त्री गिरीसँगै नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीले पनि पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । उनीहरुको मन्त्रालय तोकिएको छैन ।