Butwal Today

चिसो बढेसँगै जनजीवन कष्टकर

२१ पुष २०७९, बिहीबार
अ+
अ-

बुटवल, २१ पुस ।

केही दिन यता रुपन्देही लगायत लुम्बिनी प्रदेशका तराईका जिल्लामा बिहान बाक्लो हुस्सु लाग्न थालेको छ । अन्य समयभन्दा तुलनात्मक रुपमा दिउँसोमा घाम मधुरो भएको छ । यसले चिसो ह्वात्तै बढेको छ । मंसिरभरि घमाइला दिन थिए । साँझ बिहान बाहेक चिसो थिएन । पुसको मध्यसँगै भएपछि जाडो बढेको हो ।

अहिले पहाडमा कुहिरो र तराईका जिल्लामा हुस्सु लाग्न थालेको छ । चिसो बढेपछि सर्वसाधरणका दैनिक कामकाज प्रभावित हुन्छन् । यससँगै विभिन्न रोगको जोखिम बढ्ने गरेको छ । चिसोका बेला रुघाखोकी र स्वासप्रश्वासका बिरामी बढ्छन् । अर्कोतर्फ दीर्घरोगीलाई समस्या हुने गरेको छ ।

जिल्लाका चिकित्सकका अनुसार अहिले श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । अहिले जिल्लाका अस्पतालमा चिसोका कारण विभिन्न समस्या देखिएका बिरामी आउन थालेका छन् । बिरामीको संख्या बढेपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा.सुदर्शन थापाले अधिकांशमा श्वासप्रश्वासको समस्या पाइएको बताए ।

उनका अनुसार अस्पतालमा आउने एक सय बिरामीमध्ये ६० प्रतिशतमा श्वासप्रश्वास, रुघाखोकी र फोक्सोको समस्या देखिने गरेको छ । चिसो ह्वात्तै बढेकाले मर्निङवाक गर्ने वृद्धवृद्धा साथै बालबालिकालाई घाम लागेपछि हिंड्न, न्याना लुगा लगाउन, तातो खानेकुरा खान उनले अनुरोध गरे ।

अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासमा गाह्रो भएर धेरै बिरामी आउने गरेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए । जाडो याममा अन्य रोगका बिरामीभन्दा दम, ज्वरो, खोकीका अधिकांश बिरामी आउने र भर्ना भइ उपचार गर्नुपर्ने स्थितिका समेत रहने गरेको उनले बताए ।

प्रदेशका पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरुमा पनि चिसोका विरामी बढ्न थालेका छन् । चिकित्सकहरुले सावधानी अपनाउन अनुरोध गरेका छन् ।