Butwal Today

स्थानीय सरकारसँग कानून सिक्दै विद्यार्थीहरु

२७ मंसिर २०७९, मंगलवार
अ+
अ-

बुटवल, २७ मसिर ।

कालिका मानवज्ञान माविका कानूनका विद्यार्थीहरुको स्थानीय सरकारसंग कानूनका विद्यार्थीहरु कार्यक्रम मंगलबारदेखि सुरु भएको छ ।

कानूनका विद्यार्थीहरुलाई स्थानीय सरकारका काम कारवाहीको बारेमा स्थलगत जानकारी दिन, स्थानीय योजना निर्माण तथा कानून निर्माण प्रक्रियालाई व्यवहारिक रुपमा बुझ्नको लागि १५ दिने कार्यक्रम अन्तर्गत वडा कार्यालयहरुमा पठाईएको छ । लुम्बिनी प्रदेशका २४ पालिकाका ६७ वटा वडा कार्यालयहरुमा रहेर विद्यार्थीहरुले व्यावहारिक कानूनी अभ्यास गर्ने कार्यक्रम रहेको विद्यालयका कानून समुहका इन्चार्ज युवराज कंडेलले बताए ।

उनका अनुसार कानून समूहमा अध्ययनरत कक्षा १२ का १०६ जना विद्यार्थीहरुले लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके तथा गण्डकी प्रदेशका बाग्लुङ र नवलपुर जिल्लाका पालिकाका वडा कार्यालयमा रहेर अभ्यास गर्ने र ३ दिन स्थानीय न्यायिक समितिसंग बसेर सिक्नेछन् ।

पालिकाका वडा कार्यालयहरुमा विद्यार्थीहरुले वडाले प्रदान गर्ने सेवा र त्यसको प्रक्रिया, योजना निर्माण र माग प्रक्रिया, समुदाय र पालिका सम्बन्ध, अनुदान माग र वितरण प्रक्रिया, मेलमिलाप प्रक्रियाका साथै वडाको अवस्था र सवल पक्षको बारेमा अध्ययन गर्नेछन् । उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले स्थानीय टोल समिति, महिला समूह र बाल क्लबहरुको लागि कानूनी साक्षरता कक्षाहरु पनि संचालन गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।

कालिका मानवज्ञान माविले विद्यार्थीहरुमा कानूनको व्यावहारिक ज्ञान र सिप विकास गर्नको लागि कानूनका विद्यार्थीको लागि नमूना संसद, अभ्यास अदालत, प्रहरीसंग विद्यार्थी कार्यक्रम, समुदायमा कानूनी साक्षरता कार्यक्रम, मानव अधिकार कार्यक्रम लगायतका कार्यक्रमहरुलाई वार्षिक कार्यक्रम अन्तर्गत राखेर नियमित रुपमा संचालन गर्दै आएको र यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई कानून, विधिको शासन तथा समुदाय बुझ्न र सिकाईलाई दिगो बनाउन सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?