Butwal Today

बालेनलाई बाबुरामको चेतावनी : प्रहरी लगाएर गरिब लखेट्ने क्रम जारी राखे विस्फोट हुन्छ

२४ मंसिर २०७९, शनिबार
अ+
अ-

काठमाडौँ, २४ मंसिर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गर्ने नाममा बल प्रयोग गरी बिना विकल्प गरिब तथा फुटपाथ व्यवसायीलाई लखेट्ने क्रम जारी राखे एकदिन विस्फोट हुने चेतावनी दिएका छन् ।

बालेन्द्र शाह मेयर भएयता काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रको खोजी गर्दै अतिक्रमण भए हटाउने अभियान नै सञ्चालन गरिरहेको छ । यस क्रममा सबैभन्दा मारमा फुटपाथ व्यवसायी परेका छन् ।

काठमाडौँ महानगरमा नगर प्रहरीहरूले फुटपाथ व्यवसायीलाई लखेटिरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले फुटपाथ व्यवसायीको व्यवस्थापन र पुनःस्थापना यसको समाधान भएको सुझाव दिएका छन् । लाठी र बन्दुकको बलमा उनीहरूलाई लखेट्ने काम नरोकिए विस्फोट हुने चेतावनी उनले दिएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, Urban&Regional Development Planning को विद्यार्थीको नाताले भन्छु – सहरीकरण, अनौपचारिक श्रम÷अर्थतन्त्र,धनी÷गरिबको विभेदीकरण संक्रमणकालीन समाज÷अर्थतन्त्रको संरचनात्मक समस्या हो। यसको दिगो समाधान लाठी÷बन्दुक हैन, योजनाबद्ध व्यवस्थापन र उचित पुनस्र्थापना हो। नत्र विस्फोट हुन्छ । चेतना भया !’

केही दिनअघि थापाथलीस्थित बागमती किनारका सुकुमवासी बस्ती डोजर लगाएर खाली गराउन खोज्दा पनि स्थानीयले हतियारसहित प्रतिकार गरेका थिए ।

बाबुरामको उक्त चेतावनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रप्रति लक्षित रहेको बुझ्न गाह्रो छैन ।