Butwal Today

दाङमा माघी महोत्सव हुने

२४ मंसिर २०७९, शनिबार
अ+
अ-

दाङ, २४ मङ्सिर ।

थारु समुदायको महान पर्व माघीको अबसरमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा दाङ देउखुरीको आयोजनामा बृहत माघी महोत्सव घोराहीमा हुने भएको हो ।

आउँदो पुस २२, २३ र २४ गते माघी महोत्सव हुने भएको हो । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले माघी महोत्सव गर्ने निर्णय गरेको हो ।

थारु समुदायको ऐतिहासिक भूमि दाङ र थारु समुदायको महान पर्व माघ भएको कारणले थारु संस्कृति, परम्परा तथा लोप हँुदै गएका कलाहरुलाई विकास गर्नका लागि बृहत महोत्सवको आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए ।

बैठकले तीन दिनसम्म हुने महोत्सवका लागि विभिन्न समितिहरु पनि बनाएको छ । महोत्सवलाई भब्य रुपमा सफल पार्नका लागि बैठकले भुवन चौधरीको संयोजकत्वमा आर्थिक समिति निर्माण गरेको छ । जसको सदस्यमा केबी चौधरी, प्रकाश चौधरी, अनिल चौधरी, अशोक चौधरी, शोभाराम चौधरी लगायत रहेका छन् ।

लक्ष्मीमान चौधरीको संयोजकत्वमा सांस्कृतिक समिति, अशोक चौधरीको संयोजकत्वमा यातायात समिति, सन्तोष दहितको संयोजकत्वमा प्रचार प्रसार समिति, बसन्ती चौधरीको संयोजकत्वमा स्वागत सत्कार समिति गठन गरिएको छ ।

त्यस्तै, लौटन चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रकाश चौधरीको संयोजकत्वमा सरसफाई समिति र रेशम धरकटुवाको संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको छ । घोराहीको जिल्ला समन्वय समितिको प्राङ्गणमा हुने तीन दिने माघी महोत्सवमा दाङका दश वटै स्थानीय तहबाट थारु नाच नाचिने आयोजकले जनाएको छ । थारु महोत्सवमा थारु खाना, परिकार, भेषभुषा तथा विभिन्न खालका स्टलहरु पनि राखिने थारु कल्याणकारिणी सभाका सचिव प्रकाश चौधरीले जानकारी दिए ।