Butwal Today
विशेष समाचार

खाँणको पराजयपछि काँग्रेसमा ‘आन्तरिक किचलो’

जिल्ला नेतृत्वलाई नैतिकताका आधारमा राजीनामा दिन दर्जन नेताहरुको सुझाव
१४ मंसिर २०७९, बुधबार
अ+
अ-

बुटवल, १४ मंसिर ।

गृहमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले चुनाव हारेपछि रुपन्देही काँग्रेसभित्र आन्तरिक किचलो सुरु भएको छ ।

पार्टीभित्रको अन्तरघातका कारण खाणले पराजय व्यहोर्नु परेको आरोप एकथरीले लगाएका छन् भने अर्काथरीले भने आरोप निराधार रहेको र पार्टीभित्र विवाद सिर्जना गर्नका लागि आरोपको खेती गरिएको बताएका छन् ।

पार्टीमा संस्थापन पक्षका नेता कार्यकर्ताले अन्तर्घातको आरोप लगाइरहँदा संस्थापन खेमा भने त्यसको प्रतिरोधमा उत्रिएको छ । काँग्रेसका विभिन्न कमिटीमा आवद्ध व्यक्तिले बुधबार विज्ञप्ती जारी गर्दै देशभरी काँग्रेसको नतिजा उत्साहजनक आउँदा रुपन्देहीमा निराशाजनक आएको भन्दै जिल्ला नेतृत्वले नैतीक जिम्मेवारी लिंदै राजीनामा दिन माग गरेका छन् ।

उनीहरुले काँग्रेसआवद्ध गठबन्धनलाई जिताउने काममा सिंगो पार्टी पंक्ति परिचालित भएको अवस्थामा अन्तर्घात भयो भनी पार्टीभित्रैबाट विभिन्न माध्यममार्फत आरोपित गरिएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरिएको छ ।

यसरी विज्ञप्ती जारी गर्नेहरुमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरु रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पुर्व लुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पुर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेवि संघ पुर्व केन्द्रीय सदस्य हरि न्यौपाने, नेपाली काँग्रेस पुर्व क्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरु खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईं रहेका छन् ।

“रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार खाण र ३ (२) का उम्मेदवार रामचन्द्र ढकाललाई हराउन अन्तर्घात गरेको भनी काँग्रेस क्षेत्रीय समितिको हवाला दिइ प्रकाशित भएका समाचार तथा व्यक्तिगत पोष्टहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”–विज्ञप्तीमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?