© 2026
दाङ, ९ मङ्सिर ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट नव निर्वाचित नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्माले दाङको विकासका लागि प्रतिपक्षसँग मिलेर काम गर्ने बताएकी छन् ।
शुक्रबार दाङको घोराहीमा विजय उत्सव समारोहलाई सम्बोधन गर्दै शर्माले दाङको विकासमा कुनै कञ्जुस्याई नगर्ने बताइन् । उनले भनिन् , “हामीले निर्वाचनको समयमा जनतासँग प्रतिबद्धता गरेका कुरा पूरा गर्ने छौँ र दाङको विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा प्रतिपक्षसँग पनि छलफल गरेर अघि बढ्ने छौँ ।”
उनले संसदमा पुगेपछि फोहोरी राजनीति नगर्ने प्रतिबद्धता पनि जनाइन् । केन्द्र र प्रदेशबाट दाङका समस्यालाई समाधान गर्ने छौ । “इमान र निष्ठाका साथ हामी काम गर्ने छौँ । हामी फोहोरी राजनीति गर्ने छैनौँ,” शर्मा भनिन्–“सम्पूर्ण दाङवासीको शीर ठाडो हुने गरी काम गर्ने छौँ ।”
“पाँच वर्षमा मात्र नेता गाउँमा आउँछन् भन्ने जनताको गुनासो छ, त्यो गुनासो आउन दिने छैन, कुन महिना के काम गर्ने भन्ने तालिका बनाएर जनताको घरदैलो आउने छु”–उनले भनिन् । प्रत्येक जनताको घरघरमा पुग्दा उनीहरुका समस्यालाई प्रत्यक्ष रुपमा देख्ने र सुन्ने अवसर पाएको उनले बताइन् । “ती समस्यालाई पालैपालो सम्बोधन गर्ने छौ”– उनले भनिन् ।