Butwal Today

काँग्रेस लुम्बिनीका सभापति नै संकटमा

पुनलाई आफ्नै गठबन्धनकापुन भारी, माओवादीको भोट कता ?
२१ कार्तिक २०७९, सोमबार
अ+
अ-

रोल्पा,२० कात्तिक ।

लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेस लुम्विनी प्रदेश सभापती अमरसिंह पुन चूनावी मैदानमा छन् । उनीसंग नेकपा एमालेको उम्मेदवार प्रेम घर्तीमगर र नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो सदस्यवाट हटाईका स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुनले प्रतिस्पर्धा गर्दैछन् ।

पाँच दलीय गठवन्धनका साझा उम्मेदवार भएपनि काँग्रेस प्रदेश सभापति पुनको जीत भने निश्चित छैन । जिल्लाको पहिलो दल नेकपा माओवादी केन्द्र र दोश्रो दल नेपाली काँग्रेसको गठवन्धन हँुदा पनि सभापति पुनको जितलाई माओवादी नेता पुनको स्वतन्त्र उम्मेदवारीले चूनौती दिएको छ । त्यसो त रोल्पा प्रदेश सभा २ नेकपा एमालेको पनि जनाधार भएको क्षेत्र हो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् प्रतिनिधि सभाका लागि रोल्पावाट प्रत्यक्ष तर्फका उम्मेदवार वर्षमान पुन लगायत माओवादी नेताहरुले अमरसिंह पुनको लागि भोट मागिरहेका छन् । माओवादी नेता पुनको संयोजकत्वमा गठित निर्वाचन परिचालन समिति अहिले रोल्पाका गाउँ गाउँमा चूनावी सभामा व्यस्त रहेको छ ।

स्वतन्त्र उम्मेदवार पुन संग माओवादी केन्द्रको आन्तरिक साँठगाँठ रहेको बेलबेला चल्ने चर्चाले अम्मर सिंहको विजयी यात्रालाई शंकाको घेरामा पुर्याउने गर्दछ । वजार हल्लालाई बल पुग्ने गरी दिपेन्द्रले गत कात्तिक १७ गते जारी गरेको विज्ञप्तीले पनि शंकालाई बल पु¥याएको थियो । विज्ञप्तीमा दीपेन्द्रले प्राविधिक रुपले पदवाट राजीनामा दिएपनि नेतृत्व र आम पार्टी पंक्तीको सहमतिको आधारमा उम्मेदवारी दिएको उल्लेख गरेका छन् । “दिनभरी विभिन्न तहमा छलफल र परामर्श गरी मैले स्वतन्त्र उम्मेदवारी दिने निश्कर्षका साथ अन्तिम समयमा मेरा उम्मेदवारी दर्ता भएको हो”– उनले विज्ञप्तीमा भनेका छन्–“यो मेरो व्यक्तिगत निर्णय मात्र हैन ।”

दीपेन्द्रको विज्ञप्तीलाई खण्डन गर्दै नेकपा माओवादी केन्द्र रोल्पाले आईतवार विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा भनिएको छ, “प्रतिनिधि सधा, प्रदेश सभा निर्वाचन २०७९ का लागि रोल्पा प्रदेश सभा २ तर्फको स्वतन्त्र उम्मेदवार हाम्रो पार्टीका पूर्व पोलिटव्यूरो सदस्य तथा पूर्व जिल्ला ईन्चार्ज दीपेन्द्रकुमार पुनले गत कार्तिक १७ गते जारी गरेको विज्ञप्ती प्रती ध्यानाकर्षण भएको छ ।” विज्ञप्तीमा आफ्नो मात्र व्यक्तिगत निर्णय नभएर नेतृत्व वर्ग र आम पार्टी सहमतिको आधारमा स्वतन्त्र उहाँको दावीमा कुनै सत्यता नभएको उल्लेख गरिएको छ । पार्टी अध्यक्ष गुणेन्द्र घर्तीमगर र सचिव पूर्ण केसीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ संविधानको रक्षा, राजनैतिक स्थीरता र समृद्धिका लागि गठवन्धन भएको जनाउदै साझा उम्मेदवारहरुलाई मतदान गरी विजयी वनाउन पार्टी पंक्ति र कार्यकर्ताहरुमा आग्रह गरिएको छ ।

निकै तिक्तता र पानी बाराबारको अवस्थामा रहेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र रोल्पामा पहिलो पटक गठवन्धन गरेर अघि वढेका हुन् । देशका अन्य जिल्लामा यस अघिका निर्वाचनमा यी दुई दल वीच गठवन्धनको अभ्यास भएपनि रोल्पामा भने यस पटकको अभ्यास नै पहिलो हो । पहिलो पटक गठवन्धन गरेका उनीहरु मंसिर ४ को निर्वाचनमा हुने मतदानका विषयमा एकापसमा शंका उपशंकाको घेरामा छन ।

अमरसिंह पुन भने माओवादी प्रति ढुक्क देखिन्छन । गठवन्धन जिल्ला विशेषको मुद्धा नभई राष्ट्रिय आवश्यकता हो । नेकपा माओवादी केन्द्र चेनअफ कमाण्डमा चल्ने पार्टी भएकाले पार्टी कमिटी र नेताले भनेको मान्नेमा आफुलाई कुनै शंखा नभएको अमरसिंह पुनको भनाई छ । माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पार्टी प्रणालीमा चल्ने भएकाले आफ्नो विजयी यात्रामा कुनै शंखा नभएको पुनको भनाई छ ।

सत्तागठवन्धनले प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको रोल्पामा प्रतिनिधि सभा र प्रदेश सभा १ नेकपा माओवादी केन्द्र र प्रदेश सभा ख नेपाली काँग्रेसलाई छुट्याएको छ । केन्द्रीय गठवन्धनको निर्णय अनुसार नै प्रतिनिधि सभामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिस्पर्धा गर्दैछन् । प्रदेश सभा १ मा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखवहादुर महरा र प्रदेश सभा २ मा नेपाली काँग्रेसका लुम्विनी प्रदेश सभापति अमरसिंह पुन चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा १ नेकपा माओवादीलाई सहज भएपनि प्रदेश सभा २ भने नेपाली काँग्रेसले माओवादी केन्द्रको भर पर्नु पर्ने भएको छ । रोल्पामा यस अघिका प्रतिनिधि सभा र प्रदेश सभाका सवै निर्वाचन नेकपा माओवादी केन्द्रले जितेको थियो ।

रोल्पा प्रदेश सभा २ मा रुन्टीगढी गाउँपालिकाको वडा नं. ५,६,७,८ र ९, त्रिवेणी गाउँपालिका, माडी गाउँपालिका,गंगादेव गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिकाको १,२ र ३ तथा रोल्पा नगरपालिकाको ६,७ र ८ नम्वर वडा सहित जिल्लाका कुल ७२ मध्ये ३७ वडा पर्दछन् ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा रोल्पा प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रले १९ हजार ४८२, नेपाली काँग्रेसले ११ हजार ७७७, नेकपा एमालेले १० हजार ६३८, नेकपा एकीकृत समाजवादीले ९२२ र स्वतन्त्रले २ हजार २३६ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा राप्रपा र राष्ट्रिय जनमोर्चाको मत ७२ मात्रै थियो ।

स्थानीय तह निर्वाचनमा दलहरुले पाएको वडागत मतका आधारमा हेर्दा नेकपा माओवादी केन्द्र पहिलो दल देखिए पनि नेपाली काँग्रेस र नेकपा एमालेले पनि सम्मानजनक मत पाएका थिए । रोल्पा प्रदेश सभा २ मा तीनवटै दलको सांगठनिक अवस्था राम्रो मानिन्छ ।

गठवन्धनको सवै मत काँग्रेस उम्मेदवार पुनले पाए उनको सहज जित हुने देखिन्छ । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको मत जोड्दा ३१ हजार २५९ हुन्छ । सो क्षेत्रमा नेकपा एमालेको मत १० हजार ६३८ मात्रै हुन्छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रोल्पा प्रदेश सभा (ख) भित्र पर्ने ३७ वडा मध्ये नेपाली काँग्रेसले ८, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले २२ र नेकपा एकीकृत समाजवादीले १ वडा जितेका थिए ।

अमरसिंह पुन लुम्विनी प्रदेशको मुख्यमन्त्रीको वलियो आकांक्षी देखिन्छन । नेपाली काँग्रेसको प्रभावशाली नेता पुनको प्रदेश सभा यात्रामा स्वतन्त्र उम्मेदवार दीपेन्द्र वाधक नवने मुख्यमन्त्रीमा पुनको संभावना वलियो देखिन्छ ।

नेकपा माओवादीमा लामो समय विताएका र २०७४ सालको प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रवाट निर्वाचित भएका दिपेन्द्र पुन नै स्वतन्त्र उम्मेदवार भएकाले माओवादी मतदाताको भोट गठवन्धनमा नगए अमरसिंह पुनलाई जित निकाल्न निकै सकस देखिन्छ । यस्तो अवस्थामा सत्ता गठवन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवार वीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।