Butwal Today

जनताले खोजेको स्थिरता र स्वतन्त्र अभियानको गन्तव्य !

स्वतन्त्र नाम प्रयोग गरेर जनताको आँखामा छारो हाल्ने काम भएको प्रस्ट हुन्छ । स्वतन्त्र र लौरोको नाममा खेलिएको फोहोरी षड्यन्त्र जनताको माझ उदाङ्गो हुनै पर्छ ।
१४ कार्तिक २०७९, सोमबार
अ+
अ-

स्वतन्त्र भन्नाले के बुझ्ने र कसलाई बुझ्ने भन्ने कुरा सधै बहसको विषय बन्न सक्छ । कस्तो मानिसलाई पूर्ण रूपमा स्वतन्त्र मानिस भन्ने ? यस्तै मानिसलाई त होला, जो आफूलाई मन परेका बेलामा, मन परेका ठाउँमा मन परेको काम गर्न पाउँछ, अथवा उसलाई केही पनि काम नगरौं जस्तो लाग्यो भने, त्यसो गर्न पनि पाउँछ । यस्तो मान्छे संसारमा भेटिँदैन । यस्तो मान्छे संसारमा कहिल्यै हुन पनि सक्दैन ।

नेपालमा २०७४ र त्यो भन्दा पहिलेको चुनावमा अर्को शब्दावली चर्चित थियो वैकल्पिक शक्ति । उज्ज्वल थापाले गठन गरेको विवेकशील नेपाली दल होस वा डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति सबैले आफुलाई वैकल्पिक राजनैतिक धार भनेर चिनाउन खोजे तर तिनी वैकल्पिक भनिएका दलको अस्तित्व नै खोज्न पर्ने अवस्थामा पुगे र कहिले पनि सफल भएनन् ।

२०७९ सालको स्थानीय चुनावमा अर्को शब्द चर्चित भयो “स्वतन्त्र“ । राजधानीकै महानगरमा कुनै दलको औपचारिक समर्थन विना ईन्जिनियर वालेन्द्र शाहले उम्मेदवारी दिनु र शानदार विजय हुनुले त्यो शब्द लोकप्रिय बन्दै गयो र एउटा अभियानको रुप लिएको सबैले स्वीकार्नै पर्छ । त्यस्तै धरानमा समेत कुनै दलको समर्थन नरहेका हर्क साम्पाङको जितले समेत त्यसलाई मलजल गरेको छ ।

हर्क र बालेन्द्रको विजयले युवाहरुमा एक प्रकारको हुरी लाग्यो । आफुलाई स्वतन्त्र घोषणा गर्ने बालेन्द्रसँग जोड्न लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बन्ने । बालेन्द्र आफु आफ्नो अस्तित्व आफै निर्माण गरेका छन् तर तिनको चुनाव चिन्हको लोकप्रियताको प्रयोग गर्दै आफुलाई बालेन्द्रकै प्रतिनिधि भन्दै देशव्यापी रुपमा नयाँ नयाँ अनुहार आउन थालेका छन् । बालेन्द्र लौरोको कारण ब्राण्ड बनेका थिएनन्, तर बालेन्द्रको विजयले लौरोलाई ब्राण्डिङ ग¥यो र युवाहरु माझ चतुर ईन्जिनियरको रुपमा चर्चित ईन्जिनियर अन्नत घिमिरेले माओवादीको कोटामा लुम्बिनी प्रदेशको विकास प्राधिकरणमा नियुक्ती लिएका थिए तर लुम्बिनी प्रादेशिक अस्पतालको घोटाला सार्वजनिक भएपछि राजिनामा गरे र लौरो चुनाव चिन्ह राखेर हाम्रो नेपाली पार्टी दर्ता गरे । पछि स्वतन्त्र उम्मेद्वारको लौरो अभियान गठन भयो र हाम्रो नेपाली पार्टीले आफ्नो नाममा कायम गरेको लौरो प्रयोग गरेर देशभर स्वतन्त्र उम्मेद्वार भन्दै लौरो प्रयोग गरियो ।

के लौरोबाट जित्ने स्वतन्त्र हुन्छन ?
कदापि हुदैनन् ! लौरो चुनाव चिन्ह लिएर कुनै उम्मेदवारले जिते भने त्यसलाई निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीको सांसदको रुपमा पहिचान गर्ने छ । समानुपातिकमा समेत सो दलले उम्मेदवार सिफारिस गरेको छ । त्यसैले कोही लौरो चुनाव चिन्हबाट जित्ने अवस्था रह्यो भने निजहरुलाई सो पार्टीको ह्विप लाग्छ र निज अनन्त घिमिरे माओवादीका चतुर नेता प्रचण्डले परिचालन गरेको व्यक्तिको रुपमा राजनैतिक वृत्तमा चर्चा हुने गरेको छ । यसरी हेर्दा स्वतन्त्र नाम प्रयोग गरेर जनताको आँखामा छारो हाल्ने काम भएको प्रस्ट हुन्छ । स्वतन्त्र र लौरोको नाममा खेलिएको फोहोरी षड्यन्त्र जनताको माझ उदाङ्गो हुनै पर्छ ।

संसदीय अभ्यासमा रहेको देशमा कुनै राजनैतिक दलको सदस्य नरहेको र दलको सिफारिस विना उम्मेदवारी दर्ता गरेकालाई स्वतन्त्र भनेर संसद सचिवालय र निर्वाचन आयोगले पहिचान गर्छ तर कुनै एक पार्टीबाट उम्मेदवार भएकाहरु स्वतन्त्र हुन सक्दैनन्, त्यो कुरा निर्वाचन आयोगले जारी गरेको वक्तव्यमा समेत उल्लेख गरिएको छ । अतः स्पष्ट रुपमा भन्दा अहिले स्वतन्त्र भनेर लागेकाहरु स्वतन्त्र हैनन् । त्यसैले यिनीहरु २०७४ सालको निर्वाचनमा वैकल्पिक धार भनेर परिचालन गरिए जस्तै परिचालित छन् । तर सबै सो चिन्हका उम्मेदवारले स्पष्ट रुपमा बुझ्न सकेका छैनन् । त्यसैले कुनै सांसदले जितेमा समेत यसले संसदलाई अनिर्णयको बन्दी बनाउने र सरकार बनाउने र गिराउने खेलमा लाग्ने प्रष्ट हुन्छ । तसर्थ यसलाई स्तम्भकारले राजनैतिक अस्थिरताको खेलको रुपमा आंकलन गरेका छन् ।

राजनीति एउटा चतुरता र अवसरको खेल हो जुन हावाको जालमा जनता सधै पर्दै आएका छन् । स्थिरता चाहने जनताले एउटा दललाई स्पष्ट बहुमत दिनु पर्छ । स्थिरता चाहने युवाले कुनै अमुक व्यक्तिलाई नेता बनाउन आफ्नो शक्ति प्रयोग गर्नुभन्दा पनि एउटा पार्टीलाई स्पष्ट बहुमत दिने गरी मतदान गर्नु पर्छ । एउटा संसदले एउटा सरकार मात्र बनाउन पाउँछ । उसले बनाएको सरकारले काम गर्न सकेन भने अरु विकल्पतिर जाने हैन अर्को चुनावमा जाने परिपाटीको विकास गर्नुपर्छ ।