Butwal Today

पत्रकार महासंघका अध्यक्षले भने–‘पत्रकारिता छाडेकालाई महासंघको सदस्यताबाट हटाऔं’

६ कार्तिक २०७९, आइतबार
अ+
अ-

बुटवल, ६ कात्तिक ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिता छाडेकालाई महासंघको सदस्यताबाट बिदाई गर्न आग्रह गरेका छन् । पत्रकार महासंघले अहिले सदस्यता शुद्धिकरण अभियान चलाइरहेको भन्दै उनले भने–“म सबै शाखालाई आग्रह गर्न चाहन्छु, पत्रकारिता पेशा छाडेका, बिस्थापित भएका र अन्य पेशामा गइसकेकाहरुलाई बिदाई गर्न सुरु गर्नुस् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको ११ औँ साधारणसभामा बोल्दै अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । पत्रकार महासंघलाई श्रमजीवि पत्रकारहरुको संस्थाका रुपमा मात्रै चिनाउन आवश्यक रहेको भन्दै अध्यक्ष पोखरेलले यसका लागि शुद्धिकरण अपरिहार्य रहेको बताए ।

पत्रकार महासंघका सबै शाखाहरुले सदस्यता शुद्धिकरणका लागि महत्वपूर्ण निर्णय लिनुपर्ने भन्दै साधारणसभामा यसबारे छलफल चलाउन र आवश्यक रणनिित तय गर्न सुझाव दिए । पत्रकार महासंघलाई सक्रिय पत्रकारहरुको संस्थाका रुपमा चिनाउनुपर्ने पनि अध्यक्ष पोखरेलको भनाई छ ।

महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमत खाँ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, सचिव विनोद परियार, पुरस्कृत पत्रकारका तर्फबाट यानेन्द्र जिसीलगायतले बोलेका थिए ।