© २०२३
काठमान्डौ, २९ असोज ।
नेपाली कांग्रेसका २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वानको माग गर्दै हस्ताक्षर कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन् ।
देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा खड्कालाई बुझाएका हुन् ।
घिमिरेका अनुसार यो संख्या कांग्रेसको १४औं महाधिवेशनका कुल प्रतिनिधिको करिब ५३ प्रतिशत हो । उनले अहिलेको विषम राजनीतिक परिस्थितिमा पार्टीलाई नयाँ दिशा र गति दिन विशेष महाधिवेशन आवश्यक भएको बताए ।
घिमिरेले विशेष अवस्थामा विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिको संवैधानिक अधिकार भएको स्पष्ट पारे ।
जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिले पार्टीभित्र नेतृत्वमा आमूल परिवर्तनको माग बलियो रूपमा उठेपछि कांग्रेसका नेताहरूले यो हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् ।
पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित समयमा महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा रहेका छन् ।