© २०२३
बुटवल, ८ मंसिर।
सनातन धर्न संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्यसहित वैदिक सनातन धर्मसम्बन्धी पुस्तक प्रकाशनमा प्रसिद्ध गीता प्रेसले नेपालमा आफ्नो दोस्रो बिक्री केन्द्र बुटवलमा सञ्चालन गर्ने भएको छ । जेसिस चोकमा स्थापना गरिँदै गरिएको यो केन्द्रको औपचारिक उद्घाटन मंसिर १० गते विभिन्न धार्मिक व्यक्तित्वहरूको उपस्थितिमा हुनेछ ।
सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बिक्री केन्द्रका व्यवस्थापक सतीश खरालले यहाँ उपलब्ध हुने पुस्तकहरू २ रुपैयाँदेखि १ हजार रुपैयाँसम्मका हुने जानकारी दिए। उनका अनुसार गीता, रामायण, उपनिषद्, पुराणलगायत अध्यात्म, संस्कृति र संस्कारसम्बन्धी अधिकांश पुस्तकहरू नेपाली भाषामा समेत उपलब्ध हुनेछन् ।
विश्व हिन्दु महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खरालले गीता प्रेसका पुस्तकहरूले समाजसेवा, नैतिक मूल्य र हिन्दु धर्मप्रति जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको धारणा राखे ।
कार्यक्रममा हरिकृष्ण पूजा सामग्रीका सञ्चालक कृष्णप्रसाद खराल र विश्व ज्योतिष महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बिक्री केन्द्रलाई डिजिटलाइजेसन अभियानसहित आधुनिक सेवा केन्द्रको रूपमा विकास गरिने बताए ।
वि.सं. १९८० मा भारतको गोरखपुर, उत्तर प्रदेशमा स्थापना भएको गीता प्रेसले संस्कृत, हिन्दी, नेपाली र अंग्रेजीसहित विभिन्न भाषामा ३ हजारभन्दा बढी शीर्षक प्रकाशित गरिसकेको छ । ६० भन्दा बढी नेपाली पुस्तक बजारमा उपलब्ध छन् भने १८ पुराणमध्ये १० वटा पुराण प्रकाशन भइसकेका छन् । गीता प्रेसले गौशाला सञ्चालनलगायत सामाजिक काममा पनि निरन्तर सक्रिय भूमिका निभाउँदै आएको छ ।