© २०२३
तौलिहवा, २५ कात्तिक ।
मंगलबार बिहान कपिलवस्तुको यशोधरा गाउँपालिका–७ स्थित सिमा क्षेत्रबाट दुई सय १८ बोरा भारतीय युरिया मल बरामद गरिएको छ । रातभर भारतबाट ढुवानी गरी नेपालतर्फ रहेको बगैचामा राखिएको अवस्थामा सुठौली भन्सार कार्यालय र सशस्त्र प्रहरी बिओपी डंगरीको संयुक्त टोलीले उक्त मल बरामद गरेको हो ।
सुठौली भन्सार कार्यालयका प्रमुख किरण बिष्टका अनुसार विशेष सूचनाका आधारमा सशस्त्र र भन्सारको संयुक्त टोलीले छोपेर राखिएको अवस्थामा मल बरामद गरिएको बताए । दशगजा क्षेत्रको सय मिटर नेपाल तर्फ सो मल राखिएको अवस्थामा बरामद गरिएको उनको भनाइ छ । भन्सार प्रमुख बिष्टले बरमद गरिएको मल प्रयोगशाला (ल्याब टेष्ट)मा पठाइएको र रिर्पाट आएपछि लिलामी प्रक्रियामा जाने बताए ।
बरामद मललाई सूठौली भन्सार कार्यालय ल्याइएको छ । बरामद गरिएको मल मर्यादपुर प्रहरी चौकीदेखि नजिकै रहेको छ । भारत तर्फ तीन सय भारतीय मूल्यमा पाइने सो मल जिल्लामा भने प्रति बोरा दुई हजारदेखि दुई हजार पाँच सयमा कृषकहरूले किन्ने गरेका छन् । किसानहरूको राहतका लागि नेपाल र सशस्त्र प्रहरीले एक दुई बोरा मल ल्याउनेलाई छुट दिने गरेको छ ।
तर तस्करहरूले भने सेटिङमै मल भित्र्याउने गरेको व्यापारीहरू बताउँछन् । भारतको मल साइकल र मोटरसाइकलमा ल्याइ नेपाल तर्फ गोदाम गरी राख्ने गरिएको छ ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले तस्करी नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको बताए । उनले ९३ किलोमिटर सीमा नाका भएकाले खुला सीमाका कारण सीमा निगरानी चुनौतीपूर्ण रहेको बताए । सबै युनिटलाई नाकामा थप निगरानी बढाउन निर्देशन समेत गरिएको उनको भनाइ छ ।