© २०२३
कञ्चनपुर, १३ असोज ।
छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत कञ्चनपुरका बेदकोट र कृष्णपुर नगरपालिकामा हालसम्म १५० छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोटमा २३ र कृष्णपुरमा १२७ छाउगोठ भत्काइएको हो । अभियानमा प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाले संयुक्त रूपमा काम गरेका छन् ।
कृष्णपुर–१ निगालीकी ३२ वर्षीया कमला आउजीको छाउगोठमै सर्पले टोकेर मृत्यु भएपछि पालिकाले तत्काल अभियान सुरु गरेको थियो । नगर प्रमुख हेमराज ओझाले अभियान निरन्तर जारी रहेको र दसैं–तिहारपछि पुनः छाउगोठ भत्काउने कार्य अघि बढाइने बताए ।
हालसम्म जिल्ला प्रशासनले जिल्लाका नौवटै स्थानीय तहलाई निर्देशन दिएको भए पनि अभियान दुई नगरपालिकामा मात्र अगाडि बढेको छ । नेपालमा छाउपडी कानुनी रूपमा प्रतिबन्धित भए पनि ग्रामीण क्षेत्रमा परम्परा र अन्धविश्वासका कारण यो प्रथा अझै कायम रहेको छ ।