© २०२३
काठमाडौं, १३ साउन।
सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा १२१ वटा नयाँ कानुन (विधेयक) संघीय संसदमा पेश गर्ने लक्ष्य राखेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाका अनुसार सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, विभिन्न क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट आएका दायित्वका आधारमा नयाँ कानुन तयार गर्न लागिएको हो।
सम्बन्धित मन्त्रालयहरूबाट प्रस्तावित विधेयकहरूलाई प्राथमिकता क्रमसहित सूचीबद्ध गरी संघीय संसदमा पेश गरिएको मन्त्री चौरसियाले जानकारी दिए। उनका अनुसार सम्बन्धित मन्त्रालयहरूले विधेयक तर्जुमा गरी कानुन मन्त्रालयमा पठाएका छन्, जसमा छलफलपछि प्राथमिकता निर्धारण गरिएको हो।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री चौरसियाले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार, यदि कुनै विधेयकमा प्रत्यायोजित विधायन (अर्थात्, कार्यान्वयनका लागि नियम वा निर्देशिका बनाउने अधिकार) आवश्यक भएमा त्यसको मस्यौदासमेत तयार पारेर कानुन मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था लागू गरिएको छ।
यस्तै, प्रत्यायोजित विधायन स्वीकृत गर्ने निकायबाट प्रमाणीकरण भई प्राप्त भएको मितिले सात दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायले उक्त दस्तावेज कानुन मन्त्रालयमा दर्ता गराउन पठाउनु पर्ने नियम कार्यान्वयनमा ल्याइएको मन्त्री चौरसियाले जानकारी दिए ।