© २०२३
काठमाडौँ, ४ भदौ ।
अफगानिस्तानको हेरात प्रान्तमा गएराति भएको बस दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये १७ जना बालबालिका रहेको बीबीसीले जनाएको छ ।
इरानबाट निर्वासित अफगान आप्रवासी बोकेको बस, ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको थियो । बसमा सवार सबै यात्रुको ज्यान गएको छ भने ट्रक र मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बस इस्लाम काला नाकाबाट काबुलका लागि प्रस्थान गरेको थियो ।
हेरात प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ ।
इरानले पछिल्ला महिनाहरूमा अवैध अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने अभियान तीव्र बनाएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी निकायका अनुसार सन् २०२५ को सुरुदेखि हालसम्म १५ लाखभन्दा धेरै अफगानहरू इरान छोड्न बाध्य भएका छन् ।