© २०२३
नेपालगञ्ज, २७ साउन ।
बाँकेको राप्ती सोनारी गाउँपािलकाले ५२ वटा घर निर्माण गरेर विपन्न परिवारलाई हस्तान्तरण गरेको छ । विपन्न वर्ग आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाले संघिय बजेटबाट आर्थिक वर्ष २०८१÷८२ मा निर्माण गरी आइतवार र सोमवार ९ वटै वडाका ५२ परिवारलाई घरको चाबी र प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
करिब रु. २ करोड ४ लाख ८६ हजार ८ सय २६ को लागतमा बनेका यी घरहरू गाउँपालिकाका ९ वटै वडाका ५२ परिवारहरूलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले भावुक हुँदै भने, “यो केवल घर होइन, यो सम्मान र सुरक्षा हो। हामीले यसलाई विपन्न वर्गलाई आत्मसम्मानसहित बस्न पाउने अधिकारको रूपमा लिएका छौँ ।’’
उनका अनुसार अब गाउँका कुनै नागरिकले पनि पानी चुहिने छानामुनि निदाउन नपरोस् भन्ने उद्देश्यले यो अभियानलाई निरन्तरता दिने योजना बनाइएको छ । साथै, आगामी वर्षदेखि घरसँगै बगैँचा, पानी ट्याङ्की र परिवारको आयआर्जनका लागि साना तालीम कार्यक्रम जोडिनेछ ।

गाउँपालिकाकी उपाध्यक्ष मनीषा सिंह थारुले पनि यो कार्यक्रमलाई घर निर्माण मात्र नभई, एक सुरक्षित र गरिमामय जीवन सुरु गर्ने आधारको रूपमा व्याख्या गरिन् । उनले लाभग्राही परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरतर्फ पनि अघि बढाउन प्रतिवद्धता व्यक्त गरिन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले भने, “गाउँपालिकाले बजेट मात्र नभई समयमै कार्यान्वयन गरेर देखाएको यो सफल उदाहरण हो । यसले प्रत्यक्ष रूपमा ती परिवारको जीवनस्तरमा सुधार ल्याउनेछ ।’’
गाउँपालिकाले राप्ती पारी र वारीका वडामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर लाभग्राहीलाई घरको चावी र प्रमाण पत्र हस्तान्तरण गरेको थियो ।
आइतबार गाउँपालिकाको विनौना स्थित वडा नम्बर ५ को कार्यालयमा वडाहरू ३, ४, ५, ६ र ७ का लाभग्राहीलाई, र सोमबार वडा नम्बर ८ को समशेरगञ्ज कार्यालयमा वडाहरू १, २, ८ र ९ का लाभग्राहीलाई चाबी र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
पक्की इँटा, बलियो छाना र उज्यालो कोठासहितको नयाँ घर हात परेको दिन, धेरैको आँखामा चम्किलो खुशीको आँसु देखिन्थ्यो ।
उनीहरुका लागि वर्षातमा पानी चुहिने डर, हिउँदमा चिसो सताउने पीडा, र गर्मीमा भुइँमा बस्ने बाध्यता—यी सबै अब विगतका कथा बन्नेछन् ।