© २०२३
सल्यान, ११ असोज ।
सल्यानबाट ४८ किलो अवैध रातो च्याउ बरामद भएको छ । पश्चिम सल्यानको सल्लिबजारबाट ठुलो परिमाणमा रातो च्याउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्लीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाजरकोटबाट बाँके नेपालगन्ज तर्फ लैजाँदै गरेको ४८ किलो रातो च्याउ मध्ये ३५ किलो अवैध रहेकाले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्स्पेक्टर बाबुराम बस्नेतले जानकारी दिए ।
बनगाड कुपिण्डे नगरपालिका–१ सल्लिबजार स्थित जाजरकोट सुर्खेत सडक खण्डमा जाजरकोटदेखि नेपालगन्ज तर्फ जाँदै गरेको भे १ ज ३९३८ नम्बरको फोर्स गाडीबाट च्याउ बरामद गरिएको थियो । उक्त च्याउको बजार मूल्य प्रतिकिलो ४० देखि ४५ हजार रुपैयाँसम्म पर्ने जनाइएको छ ।
प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गाडीको छतमा सेतो प्लास्टिकको कट्ठामा ४८ किलो रातो च्याउ मध्ये सन्ध्या सन्देश एन्ड रोजी सप्लायर्सको नाममा १३ किलो जिल्ला वन डिभिजन कार्यालय जाजरकोट, खलङ्गाको छुट पुर्जी भएको र बाँकी ३५ किलो अवैध फेला पारी बरामद गरी चालक र सवारी साधनलाई इ.प्र.का.देवस्थल सल्यानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बस्नेतले जनाए ।
थप अनुसन्धानको लागि च्याउ, सवारी साधन, चालक र सह चालकलाई वनगाड कुपिण्डे सब–डिभिजन वन कार्यालयका वन रक्षक यज्ञ खड्काको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।