ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

कवि गोविन्दगोपाल र उनको ‘वासना कि उपासना’ कविता संग्रह

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

कोशी प्रदेशमा पर्ने पाँचथर जिल्लाको फिदिममा अत्रिगोत्रीय ब्रह्मनिष्ठ ब्राह्मण परिवारमा जन्मिएका पं. पशुपति खतिवडालाई पूर्वी नेपालमैँ जन्मिएर पश्चिम नेपाललाई कर्मथलो बनाउनु भएका गलेश्वर बाबाको तपको प्रभावबाट देदिप्यमान देवघाटधाममा बस्ने इच्छा प्रकट भयो । यही अनुरूप उहाँको बसाइ देवघाट धाममा भइरहेको थियो । त्यस्तै किसिमले वशिष्ठ गोत्रीय भण्डारी परिवारमा जन्मिएर सानैदेखि आफ्नी फुपू दिदीको हेरचाहका साथ भगवत् चिन्तनमा रमाइरहेकी शारदा भण्डारी पनि देवघाटधाममा आफ्नो सेवामय जीवन विताई रहनुभएको थियो । सेवाभावकी आफ्नी भतिजीको विवाह गर्ने समय भइसकेकाले भतिजीको विवाह असलकुलीन पं. परिवारमा गराउने इच्छा फुपू दिदीको भइरहेको पनि थियो । भगवानसँग गरेका भक्तवत्सला फुपूका पुकारहरू किन पो खेर जान्थे र ? त्यसैले पाँचथरबाट देवघाटधाम आउनु भएका पं. पशुपति खतिवडा र फुपूको सेवामा देवघाटधाममा रहनुभएकी शारदा खतिवडाको वैदिक विधि अनुसार विवाह सु–सम्पन्न भयो । भगवान् कृपाले वि. सं. २०५२ भदौ १२ गते उहाँहरूबाट गोविन्दगोपाल खतिवडाको जन्म देवघाटधाममा हुनपुग्यो । सानोमा मातापिताबाटै साक्षर भएका गोविन्दगोपालको पाँच कक्षासम्मको पढाइ स्थानीय स्कूलमैँ भयो भने निम्न माध्यमिक स्तरीय पढाइ गलेश्वर आश्रमद्वारा सञ्चालित वेद वेदाङ्ग संस्कृत विद्यालयबाट हुनपुग्यो । त्यसपछि माध्यमिक, उच्चमाध्यमिक र शास्त्रीकक्षाको अध्ययन हरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित परमानन्द संस्कृत गुरुकुलमा भयो । वाल्मीकी विद्यापीठबाट साहित्य विषयमा एवम् वीरेन्द्र क्याम्पस नारायणगढबाट नेपाली विषयमा स्नातकोत्तर गरी परमानन्द संस्कृत गुरुकुल विद्यापीठ एवम् वेद वेदाङ्ग संस्कृत गुरुकुलमा कवि गोविन्दगोपाल खतिवडा सहायक प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । सायद भगवानकै कृपाले पूर्व र पश्चिमका परिवार बाँधिएर सात्त्विक पितामाताबाट जन्मिएका हुनाले पनि कवि गोविन्दगोपाल खतिवडा एक होनहार प्रतिभाका धनी हुनुहुन्छ । धेरैजसो नेपाली भाषामैँ कविता लेख्ने गर्नुभएका उहाँले संस्कृत एवम् नेपाली दुबै भाषामा नै एकै किसिमले कविता रच्ने गर्नुहुन्छ । उहाँका प्रत्येक कविताले जुनसुकै प्रसङ्गलाई पनि जीवन्तबनाई विशेषगरेर हाँस्य रसका माध्यमले पाठकमा छाप बसाल्ने गरेको पाइन्छ । बहुप्रतिभाका धनी उहाँमा निबन्ध लेखन, समालोचना, कविता लेखन सबै विधामा उत्तिकै प्रतिभा प्रदर्शन गर्ने ल्याकत भएतापनि उहाँको विशेष परिचय दिने विधा कविता नै हो । त्यसैले यहाँ उहाँद्वारा रचित एवम् हालै मात्र प्रकाशित उहाँको पहिलो कृति ‘वासना कि उपासना’ कविता संग्रहकाबारेमा केही सानो विश्लेषण गर्ने जमर्को गरिएको छ ।

परमानन्दकाव्य सरिता कार्यक्रम मार्फत २०८१/१०/०८ मा देवघाट धाममै यस कृतिको लोकार्पण भयो । यस कृति नेपाली छन्द कविता परम्परामा फुलेको सुगन्धित पुष्प हो; जसले समाजबाटै सुगन्ध बटुली सारा नेपाली भाषी समाजमा काव्य सुगन्ध फैलाउने सामथ्र्य राख्दछ । प्रस्तुत कृतिको प्रशंसा गर्दै शोधार्थी अनन्तराज पाण्डे भन्नुहुन्छ– ‘करिब १७–१८ वर्षसम्मको कविता साधनाबाट जन्मिएको यस कृतिले पाठकका हृदयमा समाधिको आनन्द पैदा गर्छ भन्दा अत्युक्ति हुँदैन’ । यस कृतिभित्र शार्दूलविक्रीडित, उपजाति, मन्दाक्रान्ता, वसन्ततिलका, भुजङ्गप्रयात, तोटक, शिखरिणी, अनुष्टुप्, स्रग्विणी, दिक्पालजस्ता अति प्रचलित एवं पृथ्वी, मदिरा, मणिमाला, अचलधृतिजस्ता अति अप्रचलित गरी जम्मा १४ छन्दको मालामा ६० वटा कविता पुष्पहरू समाविष्ट छन् । कविको लामो साधना एवं कवित्व प्रतिभाका कारण छन्दले कविको भावमा कत्तिपनि विचलित गराएको छैन । यस कृतिमा कृत्रिम नभई नैसर्गिक छन्दोबद्धता पाइन्छ । सम्पूर्ण कृति सहज सरल, एवं सरस भाषाशैलीमा विरचित छ; त्यसैले पाठकले भावबोधमा कुनै बौद्धिक कसरत गर्नुपर्ने छैन । अनुपम अन्त्यानुप्रासको संयोजनले कृतिको सौन्दर्य सुनमा सुगन्धसरि बढाएको देखिन्छ । राष्ट्रप्रेमको भावले ओतप्रोत मुटुभित्र देश नामक कविताले प्रथम स्थान पाउनुले कविमा अत्यधिक राष्ट्रप्रेमको भावना रहेको पुष्टि गर्दछ । यस कृतिमा राष्ट्रप्रेम, आध्यात्मिकता, दार्शनिकता, विश्वबन्धुत्वको भावना, धार्मिकता, भौतिकता र आध्यात्मिकताको द्वन्द्व, राष्ट्रमा व्याप्त चरम गरिबीएवं भ्रष्टाचार, नेपाली सामाजिकजीवन पद्धति, प्रकृति प्रेम, पौरस्त्य सभ्यताप्रतिको आस्था आदि मूलभूत विषयवस्तु बनेर आएका छन् । मुटुभित्र देश, नेपाल मेरो घर, माटोको सौन्दर्य, माटो अनिमाया, जस्ता कविता कविको हृदयमा रहेको अत्यधिक राष्ट्रप्रेमका एवं प्रकृतिप्रेमका उपज हुन् । यसका अतिरिक्त महर्षिको माधुर्य, म, पूर्ण….., ईश्वर !, निःस्पृह, बाटो जस्ता कवितामा मूलभूत अस्तित्ववादी दर्शनले स्थान पाएको देखिन्छ । तिमीसित, मीरा जस्ता कविता पौराणिक विषयवस्तुको धरातलमा उभिएका छन् । वृद्धाश्रमकी आमा, जस्ता कविताहरू सामाजिक कुसंस्कारका विरुद्धको बुलन्द आवाजका रूपमा देखापरेका छन् । हेर् केटा, आफू त नेपाली, आँसुको गीत, बिचरा देश, चम्चा, मूला काठमाडौं, कुरीकुरी सरकार कुरीकुरी जस्ता कविताहरूले देशमा विद्यमान चरम बेथिति, शोषण, उत्पीडन, भ्रष्टाचार एवं असमानताविरुद्धको नेपाली जनताको हृदयमा सन्निहित विद्रोहात्मक स्वरको प्रतिनिधित्व गर्दछन् । हेर् केटा… जस्ता कविताले नेपालीको देशप्रतिको निराशा एवं परिवारको पेट पाल्नकै लागि घरको छारो विदेशिनुपर्ने नेपाली समाजतर्फ इङ्गित गर्दछ । ध्रुवे हात्तीको कविता मानवतावादी स्वर बोकेको व्यङ्ग्यात्कम कविता हो । संस्कृतको आत्मकथा, सिद्धेश्वर स्तुति जस्ता कविता कविमा रहेको आध्यामिकता एवं पौरस्त्य दर्शन परम्परा एवं सभ्यताप्रतिको झुकावमा अडिएका छन् ।

यस कृति अनुप्रास, उपमा, उत्प्रेक्षा, रूपक, काव्यलिङ्ग जस्ता थुप्रै अलङ्कारहरूद्वारा अलङ्कृत छ । केही उदाहरणहरू यहाँ देखाइन्छ– उत्प्रेक्षा– हाम्रो गौरव हो पवित्र मिथिला जन्मिन् यहाँजानकी । राराको रहमापुगेर रविले ऐना कतै हेर्छ कि? ।। आँखा बन्द गर्यो भने प्रकृतिमा ओङ्कार गुञ्जिन्छ कि ? यो आध्यात्मिकता पिएर सजिलै पाषाण पग्लिन्छ कि ? सेस्सेको धुन कानमा बजिरह्यो बन्दै गएँ मोहित । मानौँ स्वर्ग अचेल गर्दछ यहाँ संवादधर्तीसित ।। उपमा– भाषामा छ मिठास, उर्वर धरा, सम्पन्न छन् सभ्यता । हामी संस्कृतितुल्य सुन्दर भयौँ जोडेर आत्मीयता ।। ढुङ्गाको दरबारमा अमृतझैँ पानीकुवाको भरी । के खोज्दै रसुवापुगी बसिरहिन् गोसाइकुण्डे परी ।। यो स्वर्गीय कला बनाउँछ यहाँ कस्तो कलाकारले ? तान्यो चुम्बकले फलाम जसरी तिम्रो चमत्कारले ।। रूपक – तिम्रो आश्रयमा हलाहल पिई बस्छन् अझै शङ्कर । छन् मेरो मनमा सयौँ विषहरू दुर्भाव वा मत्सर ।। केही छैन जिजीविषातँनभए छोरा कहाँबाँच्नु म ? तेरो स्नेहरूपी खुला गगनमा उड्ने परेवा हुँ म ।। पाहाड शय्या हिउँको सिरानी । त्यागेर आएँ म बनेर पानी ।। सत्ताको मदमा अजिङ्गर सुत्यो ब्यूँझिन्छ के कामले ।। मार्छन् रावण–कुम्भकर्ण कहिले नेपालका रामले ?ब्रह्मा विष्णु महेश हुन्, जिसस हुन्, अल्लाहहुन्, बुद्ध हुन । हाम्रो प्राण बचाउने अमृत हन्, यीमन्त्रझैँ शुद्ध हुन् ।। रोगीको उपचार गर्छ जसले बिर्सेर आफ्नो घर । मेरो मन्दिर अस्पताल, जसमा छन् देवता डाक्टर ।। अर्थान्तरन्यास– मेरा निम्ति तँमात्र छस् मिलनका छन् चाहना सुन्दर । यात्रा गर्छ रजूनले पनि कहाँ आकाशभन्दा पर ? उल्लेख अलङ्कार – बाटो धर्ती हो; जसरी चोट सहन्छ । बाटो पैताला; जसमा देह अडिन्छ ।। बाटो यात्रा हो; नभए हिँड्न मिले पो ! बाटो छोडी दूर पुगे कहिले को ? अपह्नुति अलङ्कार– त्यो आध्यात्मिक भूमिभित्र सुखका लाखौं दियो बल्दछन् । फल्दैनन् अमला परन्तु रुखमा सद्भावना फल्दछन् ।। अर्थापत्तिअलङ्कार– माटोमापनि मृत्यु फल्दछ भने होलाकहाँ वैभव?पानीले मन झन् जलाउँछ भने केले निभाउँ अब ? यस्ता अनेकौँ अलङ्कारका उदाहरणहरू यस कृतिमा छन् । त्यसैले यो एक आलङ्कारिक अनुपम कृतिहो ।

यस कृतिमा सबै रसहरू धेरै थोरै मात्रामा पाइन्छन् । “तिमीसित“ जस्ता कवितामा शृङ्गार रस रहेको छ भने “बालेन“ जस्ता कवितामा कताकता वीर रसको झल्को मेट्न पाइन्छ । बाटो कुर्नेसित जस्ता कविताहरू करुण रसले ओतप्रोत भएका छन् । त्यस्तै गरी अरू रसहरूको पनि ठाउँ ठाउँमा प्रयोग गरिएकाले यस कृतिलाई विविध रसयरसयुक्त कृतिका रूपमा अध्ययन गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा “वासना कि उपासना?“कृति नेपाली छन्द कविता साहित्य परम्परामा फुलेको फूल हो । कविको प्रतिभा वित्पत्ति र अभ्यास यी तीनवटैको अनुपम सम्मिश्रणबाट यस कृतिको रचनाभएको छ । आलङ्कारिक एवं रसयुक्त शैलीमा विषयवस्तु एवं भावहरू यहाँका कविताहरूमा अटाएका छन् । यस कृतिले समाजमा राष्ट्रप्रेम, आध्यात्मिक जागरण, दार्शनिक चिन्तन, नैतिक शिक्षा एवं अनुशासनको प्रसारण गर्न सक्दछ । सरल भाषाशैलीका कारण सबैखाले पाठकहरू यस कृतिबाट लाभान्वित हुन सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?