© २०२३
पर्यटन उद्योग मानव श्रममा आधारित उद्योग हो, जसलाई नियमित रुपमा संचालन, व्यवस्थापन र विकासका लागि आवस्यक ज्ञान भएका, तालिम प्राप्त र दक्ष महिला पुरुष दुबैको महत्वपूर्ण भूमिका रहन्छ । अहिलेसम्मको सामाजिक व्यवस्थामा महिलाहरु अतिथिहरुको सत्कारमा बढी निपूर्ण हुने भएकोले पर्यटन उद्यममा महिलाहरुको भूमिका धेरै हुने गर्दछ । नेपालमा अतिथि सत्कार उद्यमको लामो इतिहास आधुनिक पर्यटन व्यवसायमा लागेका महिलाहरुको संख्या भने निकै कम छ । राष्ट्रिय आर्थिक सर्वेक्षण २०१८ का अनुसार नेपालमा संचालनमा आएका ९ लाख २३ हजार ३५६ वटा व्यवसाय मध्ये २९.८ प्रतिशतका संचालक महिला रहेका छन् भने महिलाले व्यवस्थापन गरेका व्यवसाय २९.६ प्रतिशत रहेका छन् । नेपालमा ५२५४६ वटा आवास तथा खाना प्रदान गर्ने व्यवसाय महिलाले हाँकिरहेको र यी मध्ये ४७५९५ वटा खाना तथा पेय पदार्थसंग सम्बन्धित रहेको सो प्रतिवेदनले देखाएको छ । नेपालमा ४०.३ प्रतिशत होटेल तथा रेस्टुरेन्ट महिलाहरुले चलाएको यो प्रतिवेदनले देखाएको भएपनि पर्यटन उद्योग हाक्ने अन्य क्षेत्रमा कति महिला संलग्न छन् भन्ने यसले देखाएको छैन ।
नेपालमा पर्यटन उद्योगमा महिला सहभागिताको बारेमा विस्तृत अध्ययनहरु नभएपनि प्राप्त सिमित जानाकारिहरुले नेपालको पर्यटन क्षेत्रमा महिलाहरूको सहभागिता केही सीमित भूमिकामा र गन्तव्यस्थलहरूमा सक्रिय रहेको देखाउँछन् । महिला पदयात्रीहरू मात्र भएको समूहका लागि महिला पदयात्रा–पथप्रर्दशकहरू छन् भने पर्वतारोहण दलको टोली नेताको रुपमा काम गर्ने तथा उच्च व्यवस्थापकीय तहबाट होटल, लज, रेष्टुरेन्ट, पदयात्रा तथा ट्राभल एजेन्सी संचालन गर्ने कामहरुसमेत महिलाहरूले गरिरहेका छन् । पर्यटन रोजगार सर्भेक्षण २०१४ का अनुसार पर्यटनमा प्रत्यक्ष रुपमा रोजगारी पाएका मध्ये ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला छन् । रोजगारीमा लैंगिक, शिक्षा, जाति र भूगोलले ठूलो फरक पारेको छ । पर्यटन उद्योगमा पुरुष कर्मचारीको संख्या धेरै ठूलो छ । पर्यटनमा पुरुष कर्मचारीको बाहुल्यता होटल, वायुसेवा, ट्राभल एजेन्सी, ट्रेकिङ्ग एजेन्सी जस्ता ठूला उद्योगहरूमा र महिलाहरूले हस्तकला, बिक्री केन्द्र जस्ता घरेलु तथा साना उद्योगहरूमा संलग्नता भई काम गरेको पाइन्छ । यसरी पर्यटन उद्योगको रोजगारीमा लैङ्गिक असमानता स्पष्ट देखिन्छ । पर्यटन रोजगार सर्भेक्षण २०१४ का अनुसार घरबास (होमस्टे) बाहेक जसमा महिलाहरूको ५७ प्रतिशत र पुरुषको हिस्सा ४३ प्रतिशत छ, सबै प्रकारका पर्यटन उद्योगहरूमा महिला भन्दा पुरुष कामदारहरूकै हिस्सा बढी छ । आवास उपलब्ध गराउने उद्योगहरूमा सबैभन्दा बढी महिला कर्मचारीको हिस्सा छ भने त्यसपछि क्रमशः अन्य ( प्याराग्लाइडिङ, अल्ट्रा लाइट, स्काइ ड्राइभिङ) उद्योग, वायुसेवा, यात्रा एवं पदयात्रा सेवा प्रदायक संस्था (ट्राभल एण्ड ट्रेकिङ्ग एजेन्सी) हरु र जलयात्रा एजेन्सीहरूमा छ । होटलहरू सबैभन्दा ठूलो रोजगारदाता हुन् तर होटलहरूमा हुने दुई तहका पदहरु – कार्यकारीस्तर र कामदारस्तर मध्ये धेरैजसो महिलाहरू कामदार स्तरमा लिइन्छन् । महिलाहरूको संलग्नता पर्यटनको पिरामिडको तल्लो तहमा भेटिन्छ । थोरै पुरुषहरूले नियन्त्रण गरेको पिरामिडको शिखरमा पर्यटन विकासका लागि महिलाहरूलाई विकासको वाहक र लाभान्वित समूहका रुपमा नभै पर्यटन संचालनको तल्लो तहको कामदारको रुपमा मात्र लिइन्छ ।
नेपालको पर्यटन उद्योगमा महिलाहरूको सहभागिता केही निश्चित क्षेत्रहरूमा उच्च नै भएपनि सीमित छ । नेपालको पर्यटन उद्योगमा अधिकांश महिलाहरु पुरुषका सहयोगीको रुपमा कार्य गरिरहेको पाइन्छ । होटेलमा पाहुना सत्कार, सरसफाई, रिसेप्सनिष्ट, भान्से र पर्वतारोहणमा कुल्ली काम गर्ने महिलाहरुको संख्या धेरै भएपनि पर्यटक गाइड, पर्वतारोहण नाइके, होटेल व्यवसायी, ट्राभल एजेन्सीको संचालकको रुपमा महिलाहरुलाई कमै मात्र देख्न पाइन्छ । थोरै संख्यामा सहभागिता, कार्यगत तहमा तल्लो तहको जिम्मेवारी, योजना तथा व्यवस्थापनमा कम महत्वपूर्ण भूमिका, उपयुक्त ज्ञान र दक्षताको अभाव, ऋण सुविधामा कम पहुँच र असन्तुलित संलग्नता जस्ता तत्वहरुले नेपालको पर्यटन उद्योगमा महिलाहरुको सम्मानजनक उपस्थितिमा अवरोध सिर्जना गरिरहेको देखिन्छ ।
नेपालको पर्यटन क्षेत्र पर्यापर्यटन र साँस्कृतिक पर्यटनमा टिकेको छ, जुन क्षेत्रहरुमा महिलाहरु भरपर्दा पर्यटन व्यवसायी बन्न सक्छन् । तर पर्यटन व्यवसायी बन्नको लागि आवश्यक दक्षता, स्तरीय शिक्षा र तालिममा महिलाहरुको पहुँच कम छ । अन्य विषयमा महिला विद्यार्थीहरुको संख्या बढिरहेको भएपनि पर्यटन व्यावसायिक शिक्षामा छात्राहरुको आकर्षण बढ्न सकेको छैन । काम गर्ने थलोमा पनि महिलाहरुले पुरुषकै स्तरको शिक्षा र तालिम पाउदैनन् । यसले महिलालाई नेतृत्व र ब्यवस्थापकीय जिम्मेवारी लिन सधै अवरोध गर्छ । विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) का अनुसार जबसम्म महिलाहरु पुरुषभन्दा कम योग्य रहिरहन्छन्, तबसम्म व्यवसायको बिस्तारको कारणले बढी सुविधा पाइने काम उपलब्ध भएतापनि उनीहरु कम सुविधा र कम सुरक्षित काममै रहने सम्भावना रहन्छ । त्यसैले पर्यटन व्यवसायमा महिलालाई उच्च स्थानमा रहेर कार्य गर्नका लागि उनीहरुलाई औपचारिक पर्यटन शिक्षा लिन प्रोत्साहित गर्ने, अवसर प्रदान गर्ने, पर्यटन व्यवसायमा संलग्न हुन चाहने महिलालाई व्यावसायिक तालिम दिने जस्ता कार्यहरु गर्नु जरुरी हुन्छ ।
नेपालको ग्रामीण परिवेश पर्यटनका लागि मुख्य स्रोतहरू मानिन्छन् । पर्यटनलाई समुदायले नेतृत्व गर्ने, प्राकाृतिक र सांस्कृतिक स्रोत तथा साधनहरु प्रशस्त पाइने र आयका अवसरहरूको आवश्यकता पर्ने गरीव समुदायहरू ग्रामीण क्षेत्रमा छन् । नेपालको पर्यटनको सम्भाव्यतालाई यथार्थमा बदल्न महिलाहरुको सहभागिता बढाउने र स्थानीय सरकारको स्वामित्व हुने गरी मुलप्रवाहको परम्परागत पर्यटनलाई समुदायमा आधारित ग्रामीण पर्यटनमा व्यापक परिवर्तन गर्नु अत्यन्त आवश्यक छ । समुदायमा आधारित पर्यटनले महिलाको व्यवसायिक र सेवा दिने दक्षतालाइ मजबुत गराईे उनीहरूलाई आय आर्जन गर्ने गतिविधिहरूमा लाग्न तयार गर्छ र उनीहरूमा आत्मविश्वास, आत्म सम्मानको विकास गर्छ साथै, आर्थिक रुपमा उनीहरूको महत्व बढाउँछ । समुदायमा आधारित पर्यटनमा महिलाहरूको भुमिका बढाउने कार्यले जैविक विधिता र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
गरिवी निवारणको लागि पर्यटन व्यवसायमा महिला सहभागिता महत्वपूर्ण हुन्छ तर अहिलेपनि नेपालमा पर्यटन उद्योगमा काम गर्ने महिलाहरू वृत्ति विकासको लागि थोरै अवसरहरू भएका र कम तलव ज्याला पाउने काममा केन्द्रित छन् । पर्यटनसँग सम्बन्धित रोजगारहरूमा न्यूनतम ज्यालादरको निर्धारण र बराबर तलव तथा ज्यालाको कानून तयार गरेर महिलाहरूको कानूनी संरक्षणको व्यवस्थालाई सबल बनाउने, महिलाहरूलाई प्रसुती बिदा, काम गर्ने समयमा लचकता, घरैबाट काम गर्ने सुविधा र बालबच्चाको हेरचाह गर्ने जस्ता व्यवस्थाहरू गरिदिने हो भने पर्यटन क्षेत्रमा कार्यरत महिलाहरुलाई सो क्षेत्रमा टिकेर काम गर्ने वातवरण मिलिरहन्छ । पर्यटकका लागि आवश्यक पर्ने सामग्री उत्पादन गर्न महिलासंग सिप र क्षमता भएपनि त्यसलाई व्यावसायिक रुप दिनको लागि पुँजीको अभाव छ । महिलालाई सम्पत्तिमा पहुँचका साथै विना धितो न्यून ब्याजदरमा ऋण सुविधाको व्यवस्था गर्न सकेमा महिलाहरुले नेतृत्व लिएरै पर्यटन व्यवसाय संचालन गर्न सक्छन् ।
नेपालको पर्यटनलाइ मौलिक स्वरुपमा पस्कन नसक्ने हो भने पर्यटनबाट लाभ लिन सकिदैन । नेपाली पर्यटनलाई मौलिकता दिनको लागि पर्यटन क्षेत्रमा महिला सहभागिता हुनु जरुरी छ । नेपालको पर्यटन क्षेत्रलाई आतिथ्यता उद्योगको रुप दिनमा महिलाहरुको नै मुख्य भूमिका छ तर महिलाहरु निर्णायक पर्यटन उद्यमी बन्न सकिरहेका छैनन् । अहिलेकै अवस्थामा जस्तो पर्यटन ब्यवसायमा सहभागिताले महिलाको आर्थिक सामाजिक स्तरमा परिवर्तन आउन सक्दैन । नेपालको पर्यटन उद्योगलाई सबल बनाउनको लागि पर्यटनमा महिला सहभागिता अझ वृद्धि गर्नु पर्छ । महिलालाई उचित पर्यटन क्षिक्षा र तालिम प्रदान गर्ने, उनीहरुको सीपलाई विविधिकरण गरेर पर्यटन उद्यमसंग जोड्ने, पर्वतारोहण, पदयात्रा गाइड, ट्राभल एजेन्सी संचालक, होटेल व्यवसायीको रुपमा महिलालाई स्थापित गर्न राज्यले नीतिगत र आर्थिक सहुलियत प्रदान गर्ने हो भने नेपाली पर्यटन क्षेत्रले पर्यटकहरुलाई मौलिक पर्यटकीय स्वाद पस्कन सक्नेछ र नेपालका सबै नागरिकहरुले त्यसको दिगो लाभ लिन सक्नेछन् ।