© २०२३
वि.सं. २०११ मा बुटवलमा ६१९ वटा घर र २८९७ जना मानिसहरु थिए । त्यसबेला तिनाउ नदी पश्चिमी किनारमा सीमित बटौली बजार अहिले फैलिदै पश्चिममा सालझण्डी, सूर्यपुरा, दक्षिणमा अमुवा, पूर्वमा खैरेनी र उत्तरमा झुम्सासम्म पुगेको छ । पुरानो बटौली बजार अहिले सुकेको छ, तर बुटवलको आड लिएर रुपन्देहीको उत्तरी क्षेत्रमा दर्जन भन्दा बढी बजार केन्द्रहरु बनेका छन् । बुटवल फैलिदा यसको क्षेत्रफल १०१ वर्ग किमि र जनसंख्या २ लाख भन्दा धेरै पुगेको छ । र, बुटवलले महानगरतर्फको यात्रामा पाइला बढाएको छ । आर्थिक राजधानीको सपनामा बेलाबेलामा हराउने हामी बुटवलबासीहरु कहिले प्रदेश राजधानी भएको कुराले पुलकित हुन्छौ, कहिले गण्डकी र धौलागिरीको द्वार भएको कुरामा रमाउँछौ अनि कहिले सेन राजाहरुको शीतकालीन दरबार र अंग्रेजलाई जितेको कुरामा गर्व गरेर मख्ख पर्छौ । सन् १९८० मा बुटवलको तिनाउ नदीको किनारमा चुरेको पहरामा भेटिएको रामापिथेकसको बंगाराको अवशेषलाई आधार बनाएर बुटवल करोडौ वर्ष पहिलेदेखि नै मानिस बसोबास गर्ने स्थल हो भनी टोपल्छौं । बुटवल जत्तिकै पुराना नेपालका अन्य स्थानहरु ऐतिहासिक पक्षको खोजी र लेखन भैरहँदा बुटवलको बारेमा भने ‘रे !’ को फुर्को समातेर कुरा गर्नुपर्ने स्थिति छ । बुटवलको इतिहास, सम्पदा र विकासक्रमको वास्तविक पाटोको उजागर हुन नसकेकोले बुटवल रनभुल्लमा भए जस्तो लागिरहन्छ । यस लेखमा बुटवललाई रनभुल्लमा पार्ने केही कुराको चर्चा गर्ने प्रयास गरेको छु ।
बटोल, बुटोल, बटौली कि बुटवल ?
केही मानिसहरु बुटवल शाक्यबंशका मानिसहहरु बसोबास गर्ने भएकोले शकालय–खशालय हुँदै खस्यौली भएको बताउँछन् । तर वि.स. २००० को दशकसम्मका लिखतहरुमा खस्यौली भन्ने स्थानको उल्लेख गरेको पाइन्न । योगी नरहरिनाथको हवाला दिदै केही विद्वानहरुले बुद्ध डुल्ने गाउँ अर्थात बुद्धवल्लीबाट बुद्धवली, बुटावाली हँुदै बुटवल भएको बताउँछन् । अझ केही उपबुज्रुकहरुले त नेपाल–अंग्रेज युद्धको समयमा बुटवलमा आएका अंग्रेजले कुहिरे भिर देखेर There is Nothing But Wall भनेकोले अपभ्रंश भएर बुटवल भएको भन्न समेत भ्याउँछन् । सोह्रौ शताब्दीमा तयार गरिएको भारतका सम्राट अकवरको पालाको प्रशासनिक विवरण आइन–ए–अकबरीमा बुटवलको भाग मानिने विनायकपुर र तिलपुरको कुरा आएको भएपनि बुटवलको कुरा नआउँदा त्यस समयमा बुटवलमा बस्ती थिएन कि भन्ने अड्कल काट्न सकिन्छ । तर सुखौरा किनारमा पाइएका इट्टाहरु यो लेखकले संकलन गरी पुरातत्वविद हिमाल उपे्रतीलाई देखाउँदा ती इट्टाहरु कुशाणकालीन हुनसक्ने उहाँले बताउनुभएको थियो । त्यसैले यो क्षेत्र प्राचिन बसोबासको थलो भएको अनुमान गर्न सकिन्छ । भारतको अवधलाई छुट्टै राज्यको रुपमा नवावहरुले शासन गर्न थालेपछि भने बुटवलको उल्लेख गरेको पाइन्छ । आधा शताब्दी अघिसम्म बुटवललाई बटौली बजार भनेर चिन्ने गरिन्थ्यो । तर बिभिन्न समयमा बुटवलको नाम फरकफरक लेखेको पाइन्छ । नेपालको बारेमा पहिलो विस्तृत इतिहास लेखिएको कर्कप्याट्रिकले सन् १८११ मा बुटवललाई BOOTOUL or BOOTWAL लेखे भने सन् १८१९ मा बुचानल हेमिल्टनले Butaul लेखेका थिए । सन् १८३८ मा प्रकाशित हिस्टोरिकल डकुमेन्ट्स अफ इस्टर्न इन्डियामा Bataul उल्लेख छ । सन् १८१६ को जावा गभर्मेन्ट गजेटमा बुटवल खास बा बुटवल टाउन भनिएको छ । नेपालमा बुटवलको नाम उल्लेख गरेका प्राचिन लिखतहरु कमै भेटिएका छन् । बि.सं. १७७५ चैत्रमा लेखिएको गन्धर्भ सेनको एक पत्रमा ’मुकाम बटावली’ भन्ने उल्लेख गरेको पाइएको छ । सन् १८५८–५९ मा बुटवल आइपुगेका भारतीय सिपाही बिद्रोहीहरुले जंगबहादुरलाई लेखेका पत्रमा बुटवल उल्लेख गरिएको छ ।
केन्द्र बन्न नपाएको बुटवल
नेपाल एकीकरणको पूर्वसन्ध्यामा पाल्पा चौवीसे क्षेत्र अन्तर्गतको एउटा छुट्टै राज्य थियो । विक्रमको सोह्रौं शताब्दीको उत्तराद्र्धतिरदेखि यहाँ सेनवंशी राजाले शासन गर्न थालेका थिए । यस वंशका दोश्रा राजा मुकुन्द सेन ’प्रथम’ ले वि.सं. १५७५ देखि १६१० सम्म शासन गरेका थिए । विशाल क्षेत्रलाई उनका छोराहरूले विभाजन गरेको देखिन्छ । उनको मृत्युपछि जेठा छोरा विनायक सेनले वुटवल, माहिला मणिक्य सेनले पाल्पा, साहिंला भृङ्गी सेनले तनहुँ र कान्छा लोहाङ्ग सेनले मकवानपुरलाई स्वतन्त्र राज्यका रुपमा शासन गर्न लागे । विनायक सेनले बुटवललाई आफ्नै नामबाट विनायकपुर घोषणा गरी शासन गरे । यिनका सन्तानमा क्रमशः जशुसेन, दामोदर सेन, बलभद्र भए । यिनको वि.सं. १६९९ मा मृत्यु भएपछि उनका छोरा अम्बर सेन राजा भए । अम्बर सेनका समयमा पाल्पामा त्रिलोक सेन राजा थिए । यिनको वि.सं. १७१० मा मृत्यु भयो । त्रिलोक सेन निसन्तान हुनाले राज्यको उत्तराधिकारी भएन । फलस्वरूप पाल्पा राज्य विनायकपुरमा (बुटवल) गाभियो । सोही सालमा राजा अम्बर सेनले वुटवल (विनायकपुर) बाट राजधानी पाल्पा सारी राज्यको शासन गर्न थाले । वुटवल (विनायकपुर) को राजधानी हिउँदे राजधानीका रूपमा मात्र रह्यो । राजा अम्बर सेनको वि.सं. १७५० मा मृत्यु भएपछि गन्धर्व सेन पाल्पाका राजा भए । यिनले अवधसंग सुमधुर सम्बन्ध राखेर बुटवल दक्षिणको तराईको भूभागलाई पाल्पाको अधिनमा राखेका थिए । गन्धर्व सेनपछि क्रमश मुकुन्द सेन द्वितीय, महादत्त सेन र पृथ्वीपाल सेन पाल्पाका राजा भएका थिए । राजा महादत्त सेनले अवधका नवाव आसफुद्दौलालाई खुशी बनाएर मधेसको ठूलो भूभाग कम तिरो तिर्ने गरी जागिरका रुपमा लिएका थिए । वि.सं. १८६३ बैशाख १५ गते काठमाडौंमा पृथ्वीपाल सेनको षडयन्त्रपुर्वक हत्या गरेपछि पाल्पा राज्य नेपालमा गाभिन पुग्यो । पाल्पा राज्य नेपालमा विलय भएपछि भागेर अंग्रेजको शरणमा पुगेका भारदारहरु मध्ये रणदुल्ला सेनलाई अंग्रेजले पहिले पाल्पाले उपभोग गरेको तिलपुर प्रगन्नाको राजा बनाएका थिए । सन् १८५७ को सिपाही विद्रोहमा उनले विद्रोहीहरुलाई समर्थन गरेको कारण सन् १८५८ मा उनको राज्य खोसियो । यसरी भारतीय शहर निचलौलमा बुटवल राज्यको विधिवत अन्त्य हुन पुगेको थियो । राज्य, राजधानी वा शक्ति केन्द्र बन्न नसकेपनि बुटवलले पंचायतकालमा अंचल सदरमुकाम र संघीयता आएपछि केही वर्ष प्रदेशको राजधानी बन्न पाएको थियो । बुटवलमाथि जालझेल गर्नेमा सेनकालमा अम्बर सेनदेखि गणतन्त्रमा शंकर पोख्रेलसम्मको अगुवाई भएको हो भन्दा अन्यथा हुँदैन ।
बुटवल अवध कि पाल्पाको ?
बुटवल दक्षिणका मैदानी भूभाग तिलपुर् र विनायकपुरलाई मुगल साम्राज्य अन्तर्गत राखिएको थियो र पछि अवध राज्यले आफ्नो भूभागमा पारेका थिए । पहिले दिल्लीलाई रिझाएर र पछि अवधलाई रिझाएर ती क्षेत्र पाल्पाले उपभोग गरेको भएपनि बुटवल समेत विनायकपुरमा पथ्र्यो कि बुटवल दक्षिणको मैदानी भूभाग पनि बुटवल थियो भन्ने खुल्दैन । पाल्पा राज्य नेपालमा गाभिनुअघि नै सन् १८०१ मा अवधका नवाव सआदत अलिले एक सन्धि गरी गोरखपुर जिल्ला इस्ट इन्डिया कम्पनीलाई सुम्पिएका थिए । कम्पनीले बुटवलको तराईको स्वामित्व आफूमा आएको भनेपछि गोरखपुरका कलेक्टर र पाल्पाली राजा पृथ्वीपाल सेनका प्रतिनिधि बसी वार्षिक ३२००० रुपियाँ तिर्ने सहमति गरी पाल्पालाई बुटवल तराईको भूभाग भोग गर्न दिने सहमति भएको थियो । अवधका नवावहरु हिउँदमा बुटवल आएर बस्ने गरेको आशिफद्दौलाका प्रशासनिक अभिलेखबाट देखिन्छ । सन् १८५७ को सिपाही विद्रोहपछि भागेर आएका अवधका नवाव ब्रिजिस कादिरले जंगबहादुरसंग वार्ता गर्ने क्रममा बुटवलमा आफ्ना पुर्खाहरु आएर बस्ने घर समेत भएकोले आफुहरु बुटवलमा बस्न पाउने माग गरेका थिए । यी तथ्यहरुले बुटवलमा अवधका नवावको उपस्थितिलाई पाल्पाली राजाहरुले स्वीकार गरेको देखिन्छ र यो भूभागमा द्वैध स्वामित्व रहेको देखिन आउँछ ।
गुमनाम मणिराज
१० वर्षसम्म नेपालीहरुसंग विवाद गरेपछि ११ मार्च १८१४ मा सर रोजर मार्टिन, गोरखपुरका मजिस्ट्रेटले २५ दिनभित्र बुटवल र स्युराज खाली गर्न आदेश दिनुका साथै फौज पठाएर बुटवल, स्युराज र लोटनमा चौकी स्थापना गरे । त्यसबेला कुनै प्रतिकार नगरी नेपाली फौज पहाड उक्लियो । चौकी स्थापना गरेपछि बुटवल आफ्नो अधिनमा रहेकोमा ढुक्क भएको बसेको थियो । तर २९ मे को दिन बिहानै मुनराज फौजदार (कतै मणिराज मास्के सुबेदार पनि उल्लेख छ । अँग्रेजले फौजदार भनेपनि उनी सुबेदार दर्जाका सैनिक थिए र उनको थर मास्के थियो । मणिराजका सन्ततिहरु तानसेनबाट बुटवल आएर बसेका थिए । पारी बुटवल निमचोकमा उनीहरुको पुरानो घर अहिले पनि छ र त्यो घरको अघिल्लो भागलाई पुनर्निर्माण गरी चियावाला नामक आधुनिक चिया पसल सञ्चालन गरिएको थियो ।) को नेतृत्वमा रहेको नेपाली सेनाले बुटवलमा रहेको अंग्रेजी चौकीमा आक्रमण गरी १८ जना प्रहरीको हत्या गरेको थियो भने त्यो घटनामा ६ जना घाइते भएका थिए । बुटवलका ३ चौकी नेपाली फौजले अतिक्रमण गरेपछि बाँकी अंग्रेजी चौकी अंग्रेज आफैले हटाए । त्यो घटनाले आक्रोशित व्रिटिश प्रशासनले बुटवल स्युराज क्षेत्रलाई खाली गर्न, क्षतिपूर्ति दिन र फौजदारलाई सुपुर्दगी गर्न माग गरे । यी मागहरु नेपालले स्वीकार गर्ने कुरै थिएन । यही कुरालाई निहँु बनाएर इस्ट इन्डिया कम्पनीले नेपाल विरुद्ध लडाईको तयारी सुरु ग¥यो । यिनै मणिराजले बुटवलमा श्री ७ मननारायण मन्दिरको निर्माण गरी गुठीको व्यवस्था समेत गरेका थिए । नेपाल–अंग्रेज युद्धमा अंग्रेजलाई बुटवलले हराएको कुरा गरेर, उजिरसिंह र जितगढ़ी किल्लाको वर्णन गरेर नथाक्ने बुटवलबासीले मणिराज मास्केलाई सम्झदैनन् । अनि उनले स्थापना गरेको मन्दिरको दुरावस्थाले कसैलाई पनि पिरोल्दैन ।
नगर स्थापना दिवसको ‘चक्कर’
बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएको भन्दै सो दिनलाई स्थापना दिवस मान्दै केही वर्ष यता बुटवलमा हरेक वर्ष फागुन ३ गते स्थापना दिवस मनाइँदै आएको छ । नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर वि.सं. २०१६ कात्तिक १२ गते यो बुटवल खस्यौली नगरपालिका घोषणा गरिएको थियो । वि.सं २०३५ माघ ८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यसको नामबाट खस्यौली झिकेर ‘बुटवल नगरपञ्चायत’ कायम गरिएको थियो । देश गणतन्त्रमा गएपछि नेपाल सरकारले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय अनुसार वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा बुटवल उपमहानगरपालिका क्षेत्र तोकेर सूचना प्रकाशन गरेको थियो । यी मितिहरुमा कतै नपरेको फाल्गुन ३ गते कसरि नगर स्थापना दिवस भयो भन्ने कुरा मस्तिष्कमा चक्कर काटिरहेको छ ।
बुटवलले लामो यात्रा तय गरेर अहिलेको अवस्थामा आईपुगेको छ । बुटवलको गर्विलो इतिहासको खोजी राम्रोसंग नहँुदा अहिलेसम्म वुटवलको गर्व ’रे!’ मा सीमित भैरहेको छ । बुटवल ऐतिहासिकताको रनभुल्लमा छ । यो रनभुल्ललाई बुटवलका अध्येताहरुले चिरेर वास्तविकता अगाडि ल्याउनु जरुरी छ ।