© २०२३
२८ डिसेम्बर २०१३ मा त्यहाँको विधानसभा चुनावको परिणाम अनुसार दिल्ली राज्यको मुख्यमन्त्रीका रूपमा नियुक्ति पाएका अरबिन्द केजरीवालले हालै भएको चुनावमा हार व्यहोर्नु परेको छ । पहिलोपटक मात्र ४९ दिन सत्तासिन भएका उनले सन् २०१४ देखि २०१५ सम्मको लगभग एक वर्षको राष्ट्रपति शासनपछि भएको चुनावबाट भने बहुमतका साथ दिल्ली प्रदेशको बाग्डोर सम्हाल्दै आएका थिए । हालमापनि चुनावको केही समयअघि मात्र मुख्यमन्त्री पद आफ्नै पार्टीकी सदस्य आतिशी मार्लेनालाई दिएका उनले चुनावपछि पुनः मुख्यन्त्री बनेर आउने घोषणा समेत गरेका थिए । तर, जनताले उनलाई सत्तामा रहिरहनका लागि लालमोहर लगाउन सकेनन् । उनले मात्र नभएर उनको पार्टी नै बहुमत ल्याउनबाट धेरै टाढा रह्यो । मनिष सिसोदिया आदि मुख्य मुख्य नेताहरू पनि जनताबाट अनुमोदित हुन सकेनन् । सन् २०१३ को चुनावमा स्पष्ट बहुमत ल्याउन नसक्दा ४९ दिनमै सत्ताबाट बाहिरिएको अरविन्द केजरीवालको आमजनता पार्टीले सन् २०१५ को मध्यावधि निर्वाचनमा भने ७० सिट मध्ये ६७ सिटमा ऐतिहासिक जित हासिल गरी सरकार बनाएको थियो । त्यसपछिको पूरा ५ वर्ष सत्तामा रहेको सो पार्टीले सन् २०२० को दिल्ली चुनावमा समेत ७० सिटमध्ये ६२ सिटमा जित हासिल गरी पुनः दिल्लीमा सरकार बनाउन सफल भएको थियो । तर, यसपालिको विधानसभा निर्वाचनमा भने जम्मा २२ सिटमा समेटिएको आम आदमी पार्टीले नराम्रो हार खाई सत्ताच्युत हुन पुगेको छ ।
अन्ना हजारेको भ्रष्टाचारमुक्त भारत आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका अरविन्द केजरीवालले आफ्नो नेतृत्वमा आम आदमी पार्टीको गठन गरेका थिए । दिल्लीमा १५ वर्षदेखि शासन गरिरहेको तात्कालिक काङ्ग्रेस पार्टीलाई भ्रष्टाचारीको संज्ञा दिएर सत्ताशीन हुन पुगेका उनीबाट दिल्लीका जनताले भ्रष्टाचार रहित विकास निर्माणका लागि अत्यन्तै ठूलो आशा गरेका थिए । त्यही कारणले पनि होला उनलाई २०१३ मा दोस्रो ठूलो पार्टीमा निर्वाचित गरेका जनताले २०१५ को मध्यावधि निर्वाचनमा भने प्रचण्ड बहुमतका साथ सत्तारोहण गराएका थिए । दिल्लीका जनताले केन्द्रिय सरकारका लागि भारतीय जनता पार्टीलाई दिल्ली राज्यका सातओटा निर्वाचन क्षेत्रमध्ये सातै क्षेत्रमा विजयी बनाएतापनि विधानसभा चुनावमा भने अरविन्द केजरीवालकै पार्टीलाई बहुमत दिँदै आएका थिए । त्यसै कारणले पनि २०२० को विधानसभा चुनावमा पनि केजरीवालको आमआदमी पार्टीले नै बहुमत हासिल गरेको थियो । सन् २०१४ देखि २०२४ सम्मका लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई त्यहाँका सातमा सातै सिटमा निर्वाचित गराएतापनि विधानसभा चुनावमा भने फेरि भाजपाको कट्टर विरोधीका रूपमा रहेको आमआदमी पार्टीलाई नै बहुमत दिलाउँदै आएका थिए । तर यस पटक भने त्यसो हुन सकेन । जनताले केजरीवाललाई पत्याउन सकेनन् । त्यसैले उनलाई प्रतिपक्षीका रूपमा राखी भारतीय जनता पार्टीलाई पूर्ण बहुमत दिलाइदिए । २०१३ को विधानसभा चुनावमा मात्र ५ सिटले बहुमत हासिल गर्न नसक्दा सिट संख्याका आधारमा ठूलो पार्टी नै भएपनि प्रतिपक्षीका रूपमा रहन परेको भाजपा भने ठूलो कसरतका साथ बल्ल २७ वर्षपछि दिल्ली राज्यको सत्तामा मुखिया बन्ने मौका पाएको छ । यस जितमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विकासको लहर नै मुख्य कारक बनेको कुरा जानकारहरू बताउँछन् । केही प्रतिपक्षीहरूले केन्द्रदेखिको ठूलो बल लगाएर भाजपा सत्तामा आएको भन्ने विषयलाई अगाडि सारे तापनि भाजपामाथिको जनलहर एवम् आपको सत्ता दुरूपयोग नै प्रमुखरूपमा सत्ता परिवर्तनको कारण हो भन्ने कुराको विश्वास धेरैमा रहेको छ ।
भारतमा मात्र नभएर नेपालमा पनि दिल्लीको चुनावमाथि धेरैको विशेष दृष्टि परेको थियो । नेपालमा यस चुनावको प्रभाव पर्नुको कारण भनेको अरविन्द केजरीवालको भ्रष्टाचार मामलामा भएको जेल यात्रा एवम् भाजपाको अन्य राज्यमा भइरहेको प्रगति नै मुख्य कारक तत्व रहेको थियो भने त्यहाँको केन्द्रिय सत्ताबाट बाहिर भई राजधानीकै मुटुमा शासन गरिरहेको नयाँ पार्टी र यहाँ वर्तमानमा आएका नयाँ पार्टीहरूको तुलनात्मक विश्लेषणका लागि पनि यताका नेता जनता सबैको नजर त्यता परिरहेको थियो । अर्को कुरो काठमाडौँको नगरमा केन्द्रिय सत्ताका विरोधी बालेन साहले यहाँ काठमाडौँ हल्लाइरहँदा त्यहाँपनि केन्द्रिय सत्ताका विरोधी अरविन्दले दिल्ली हल्लाएको हुनाले पनि त्यता नजर परेको भन्दा त्यति अत्युक्ति नहोला । त्यस्तै यहाँका हामी नेपाली जनता अरविन्द केजरीवालको जेल यात्राले त्यहाँका जनतामा कत्तिको प्रभाव पार्दछ भन्ने कुराले पनि तरङ्गित भइरहेका थियौँ । अब यो दिल्ली कथा पनि सकिएको छ । भाजपा दिल्लीको सत्तामा आउने बाटो खुलेको छ । अरविन्द केजरीवाल सत्तामा आउनभन्दा पहिले उनले हाम्रा नेताहरूले जस्तै विभिन्न प्रकारका आश्वासन बाँडेका थिए । दिल्ली जस्तो देशकै धनी स्थानमा रहेका गरीब जनतालाई केही राहतका कुरा ल्याउनु त युक्ति सङ्गत नै हुने भयो तर पूरै दिल्ली मै फ्रि बिजुली र फ्रि पानी आदि जस्ता सुन्दा सबैलाई अत्यन्तै प्रिय लाग्ने तर देशलाई दीर्घकालीन असर पर्ने खालका कार्यक्रमका साथ प्रसिद्ध हुनपुगेका थिए । यमुना नदीलाई स्वच्छ पारेर त्यहाँको जल सेवन गर्ने नाराका साथ सत्तारोहण हुन पुगेका उनी आखिर मदिरा घोटालाका कारण जेलको यात्रा गर्नुप¥यो । भ्रष्टाचार विरोधी आन्दोलनका कारण उदाएका उनी भ्रष्टाचारकै कारणले अस्ताउन पुगेका छन् । दिल्लीको विकासमा उनको भूमिका केही त अवश्य थियो तर त्यो विकास भनेको त्यहाँका रैथाने जनता र रैथाने धर्म संस्कारमा भन्दापनि उही बाहिरी देशबाट त्यहाँ आई नागरिकता पाएका एवम् भारतमा बसेरपनि माया चाहिँ पाकिस्तान र भ्याटिकन सिटीतिर गर्नेहरूप्रति मात्र लक्षित भयो । विद्यालय विकासका नाममा भित्रभित्रै उही क्रिश्चियनालिटीको मन्दविष छरेर विद्वान् तयार पारी आफ्नै देशको धर्म संस्कारलाई पछौटेपनको संज्ञा दिने खालको भयो । नरेन्द्र मोदी र योगी आदित्यनाथ जस्ता त्यागी हिन्दुवादी नेतालाई उही काङ्ग्रेसका भ्रष्ट नेतासँगै राखेर तुलना गर्न लागे । त्यसैले विकास भनेको आफ्नो देशको धर्म संस्कार र संस्कृति अनुकूल हुनुपर्दो रहेछ भन्ने विषयलाई बुझ्दै आएका जनताले यसपटक उनका कुरा हावामै उडाइदिए । केजरीवाल पुनर्मुसीको भवः को अवस्थामा पुगे ।
त्यताको चुनावी परिणामले यता हाम्रो देशमापनि राम्रै झट्का हानेको छ । भारतलाई गाली गरेकै भरमा जनतालाई बेकुप बनाएर आफुलाई राष्ट्रवादी देखाई सत्तारोहण यात्रामा रमाएकाहरूको मुटुले पनि ठाउँ छोडेको छ । पुराना पार्टीहरूका रूपमा रहेका उनीहरू जनतालाई अनावश्यक र असम्भव विषयका ललीपन खुवाउँदैमा अब सत्तारोहणको यात्रा कठिन छ भन्ने विषयले झड्का हानिएका छन् । पहिले जस्तै भ्रष्टाचार गरेर बस्ने अनि अलिअलि काम गरेजस्तो गरेर अब जनताले पत्याउँदैनन् भन्ने विषयले झस्किएका छन् । राम्रो काम गर्न सकियो भने जनताले भाजपालाई जस्तै माया पनि गर्ने रहेछन् भन्ने कुराले पनि उनीहरूलाई केही सचेत बनाएको छ । त्यस्तै दक्षिण एसियामैँ क्रिश्चियनालिटीका माध्यमले यहाँ साम्राज्यवाद फेलाउनका लागि उनीहरूको पैसा खाएकाहरू पनि अब भारतमा यस्तै भइरहने हो भने हाम्रो जीवन धेरै छैन है भन्ने विषयले तिरिमिरी भएका छन् । सन् २०१४ भन्दा पहिले भारतबाटै पालिएर यहाँ हाम्रो देशमा सशस्त्र द्वन्द्व मच्चाएर सत्तारोहण भई जातीय नाराले नेपालमा अर्को युद्ध गराउने उद्देश्यमा लागिरहेकाहरू दिल्लीमा भाजपा सरकार आउँदा अब त्यहाँका डेरा डण्डा केरलातिर पो सार्न पर्ने हो कि भनेर झस्किएका छन् । अनि नयाँ पार्टी भनेर नयाँखालको विकासका लागि जनताबाट केही मात्रामा अनुमोदित भई २०८४ को चुनाव ताकेकाहरू पनि नयाँ भन्दैमा ठ्याक्कै सत्तारोहण हुन सकिँदो रहेनछ भन्ने विषयले झसङ्ग भएका छन् । नयाँ पार्टीका रूपमा आउँदा समेत यहाँका बहुमत जनताको इच्छा अनुसार यहाँका रैथाने धर्म संस्कार संस्कृतिलेयुक्त विकासका कुरा आफ्नो पार्टीको नीतिमा नराखेकाहरू पनि उही रोहिङ्ग्या र वङ्गलादेशीलाई खुशी गराएमा सबै कुरा ठिक हुन्छ, जनता बेकुप भैहाल्दछन् भन्ने चाहिँ हुँदो रहेनछ है भन्ने कुराको ढ्याङ्ग्रो ठोकाइले झस्किएका छन् । त्यस्तै जनतालाई झुटोको खेती गरेर मात्र उनीहरूलाई फकाउन सकिँदो रहेनछ है भन्ने विषयले पनि उनीहरू तरङ्गित भएका छन् । अतः जनतालाई बेकुप बनाएर सधै सत्तामा बसिरहन पाइँदो रहेनछ है भन्ने कुरा दिल्लीको चुनाव परिणामका माध्यमले यी झस्किएकाहरूले छिट्टै बुझून् । अस्तु ।